सन्दीप लामिछाने ‘डेनिम एन्ड डेभिल्स’को ब्रान्ड एम्बेसडरमा पुनः नियुक्त

Share this
770shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २७, शुक्रबार १८:०९

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने लोकप्रिय क्लोथिङ ब्रान्ड ‘डेनिम एन्ड डेभिल्स’ को ब्रान्ड एम्बेसडरमा पुनः नियुक्त भएका छन्।

काठमाडौंको होटल हिमालयमा बिहीबार आयोजित १ विशेष समारोहमा सन्दीप र कम्पनीबीच ३ बर्से सम्झौतामा हस्ताक्षर भएको हो। यो सहकार्यलाई कम्पनीले ‘रिसाइन्ङि’ (पुनः सम्झौता)को संज्ञा दिएको छ । किनकि सन्दीप यस ब्रान्डसँग जोडिने पहिलो एम्बेसडर पनि थिए।

सम्झौता समारोहमा बोल्दै डेनिम एन्ड डेभिल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) घनश्याम काफ्लेले सन्दीपसँगको सहकार्यले पुनः निरन्तरता पाएकोमा खुसी व्यक्त गरे। ‘यो कार्यक्रम साइनिङ सेरेमोनीभन्दा पनि ‘रिसाइन्ङि सेरेमोनी’ हो,’ काफ्लेले भने, ‘हाम्रो ब्रान्डको पहिलो एम्बेसडर नै सन्दीप हुनुहुन्थ्यो। बीचमा केही कारणले रोकिएको सहकार्य फेरि सुरु भएको छ। ढिलै भए पनि यो यात्रा अघि बढेको छ।’

सीईओ काफ्लेले सन्दीप आफैंमा एक स्थापित ब्रान्ड भएको र उनको उपस्थितिले कम्पनीलाई थप उचाइमा पुऱ्याउन मद्दत गर्ने विश्वास व्यक्त गरे। ‘सन्दीपको बारेमा धेरै भनिरहनु पर्दैन। उहाँ आफैँमा एक ब्रान्ड हुनुहुन्छ। सानै उमेरमा नेपाललाई विश्वमा चिनाउने खेलाडी भएकाले उहाँलाई एम्बेसडर बनाउँदा कम्पनीलाई पनि फाइदा पुग्ने विश्वास छ,’ उनले थपे।

कार्यक्रममा क्रिकेटर सन्दीप लामिछानेले डेनिम एन्ड डेभिल्ससँगको आफ्नो सम्बन्ध व्यावसायिक मात्र नभएर पारिवारिक रहेको बताए । ‘उहाँहरूसँग मेरो लामो कथा छ। सन् २०१८ मा घनश्याम दाईसँग भेट भएपछि सुरु भएको सहकार्यको यात्रा आफैँमा सुन्दर थियो,’ सन्दीपले आफ्नो अनुभव सुनाए, ‘उहाँहरूले मलाई सधैं परिवारको सदस्यजस्तै व्यवहार गर्नुभएको छ। यो ३ वर्षको लागि मात्र होइन, म यो सहकार्यलाई अझै लामो समयसम्म अगाडि बढाउन चाहन्छु।’

सन्दीपले डेनिम एन्ड डेभिल्सले अब पुरुषका लागि मात्र नभइ युनिसेक्स (महिला र पुरुष दुवैका लागि) कपडा पनि बजारमा ल्याउन लागेकोमा बधाई दिँदै यसले ब्रान्डलाई अझ फराकिलो बनाउने बताए। सम्झौता ३ वर्षको लागि भए पनि दुवै पक्षले आर्थिक पाटो भने खुलाएका छैनन्।

डेनिम एन्ड डेभिल्सले उच्च गुणस्तरका जेन्स तथा युनिसेक्स कपडाहरूको उत्पादन तथा बिक्री–वितरण गर्दै आएको छ। सन्दीपले नेपालका लागि ६२ एकदिवसीय र ६२ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनी ओडीआईमा १२७ र टी २० आईमा ११७ विकेट लिएका कीर्तिमानी क्रिकेटर हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.