
विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले खेल क्षेत्रमा विशेष योगदान गरेका व्यक्ति, प्रशिक्षक, टिम व्यवस्थापक र खेलाडीलाई सम्मान गरेको छ ।
बोर्डले शनिबार विराटनगरमा कार्यक्रमको आयोजना गरेर खेलकुद क्षेत्रमा विशेष योगदान गरेका उद्योगी, पत्रकार, खेलाडी र खेलसँग आवद्ध १ सय १ जनालाई सम्मान गरेको हो । त्यस अवसरमा सञ्चार माध्यमबाट खेल र खेलाडीको विकासमा योगदान गरेका पत्रकारहरु अभयकुमार राई, चिरन्जीवी तिम्सिना (सुमन सुस्केरा), अनिल श्रेष्ठ, गुरु ढकाल, रमेश समदर्शी, घनेन्द्र पौडेल र रमा दाहाललाई जनही नगद १० हजारका साथै सम्मान पत्र प्रदान गरिएको थियो ।
खेल क्षेत्रमा विशेष योगदान गरेको भन्दै २ जना उद्योगी पनि सम्मानित भए । उद्योगी महेश जाजू र प्रकाश मुन्दडालाई नगद ११ हजारका साथ सम्मानपत्र प्रदान गरिएको थियो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाएका फुटबलका पूर्वअन्तर्राष्ट्रिय खेलाडी धीरेन्द्र प्रधान, अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी सिद्धान्त लोहनी, पूर्वअन्तर्राष्ट्रिय क्रिकेट खेलाडी राजकुमार प्रधान, राष्ट्रिय क्रिकेट प्रशिक्षक महेशप्रसाद रिजाल, पूर्वअन्तर्राष्ट्रिय ब्याडमिन्टन खेलाडी लवभक्त श्रेष्ठ, पूर्वअन्तर्राष्ट्रिय एथलेटिक्स खेलाडी जितेन्द्र चौधरी, कराँते प्रशिक्षक किरण लामा तामाङसमेत सम्मानित भए ।
विभिन्न खेलका पूर्वअन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक, राष्ट्रियस्तरका विभिन्न खेलमा पदक विजेता खेलाडी, टोली व्यवस्थापक र कर्मचारी नगदसहित सम्मानित भए । उनीहरुलाई ५ हजारदेखि १२ हजारसम्म नगदसहित सम्मानपत्र प्रदान गरियो ।
उनीहरुलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा खेलकुद बोर्डका अध्यक्ष पाँचकर्ण राई, बोर्डकी उपाध्यक्ष विन्ध्या कार्की, बोर्डका सदस्यसचिव कृष्ण बस्नेतलगायतले सम्मानपत्र प्रदान गरेका थिए ।
त्यस अवसरमा मन्त्री तेजुलाल चौधरीले खेलकुदका पूर्वाधार निर्माणलाई विशेष प्राथमिकतामा राखेर सरकारले काम गर्दै आएको उल्लेख गरे । उनले विगतको भन्दा आगामी आर्थिक वर्षको बजेटमा सरकारले खेलकुद क्षेत्रको बजेट दोब्बरले बढाएको प्रस्ट पारे ।
‘विगतका वर्षहरूमा युवा तथा खेलकुद मन्त्रालयलाई ३ करोड बजेट विनियोजन गरिँदै आएको थियो,’ मन्त्री चौधरीले भने, ‘आगामी आर्थिक वर्षको बजेटमा दोब्बरले बढाएर ६ अर्ब विनियोजन गरिएको छ ।’ ६ अर्ब बजेटमध्ये ४ अर्ब खेलकुद क्षेत्रको पूर्वाधार निर्माणका लागि विनियोजन गरिएको बताउँदै मन्त्री चौधरीले भने, ‘खेलाडी उत्पादनका लागि ‘स्कुलदेखि ओलम्पिक’ भन्ने कार्यक्रम कार्यान्वयनमा लैजाने तयारी गरिएको छ ।’
कोशी प्रदेश खेलकुदमा पछाडि परेका कारण खेलकुद क्षेत्रलाई उकास्ने र खेलाडीको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने कार्यक्रम ल्याउन प्रदेश सरकार र स्थानीय तहलाई उनले आग्रह गरे ।
























