मन्त्रालय र राखेपको खेल संघसँग छलफल  

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ३२, बुधबार १९:४९

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयको आयोजना र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को संयोजनमा राष्ट्रिय खेल संघ / महासंघका पदाधिकारीसँगको अन्तरक्रिया कार्यक्रम सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बुधबार सम्पन्न भएको छ ।

कार्यक्रममा खेलकुद मन्त्रालयका सहसचिव सुवासचन्द्र सिवाकोटीले कानुनी, प्रशासनिक, आर्थिक र विविध पक्षमा कार्यपत्र प्रस्तुत गरे ।

राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रशासकीय अधिकृत सानुराजा केसीले राष्ट्रिय खेल संघका आर्थिक स्रोत, अन्तर्राष्ट्रिय संघ / महासंघबाट प्राप्त सहयोग, प्रायोजन, टिकट बिक्री, प्रशिक्षण शुल्क, खेलाडी ग्रेडिङ र लाइसेन्स विवरण, भौतिक संरचना तथा बजेट बारे कार्यपत्र पेस गरेका थिए ।

सो अवसरमा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपालको खेलकुद गुणात्मक सुधारको बाटोमा गइरहेको बताउँदै मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको प्रशिक्षणमा रहेका खेलाडीको सुविधा वृद्धिमा पहल गरिने बताए ।

उनले निजी क्षेत्रसँग सहकार्य गरी खेलकुदलाई अगाडि बढाउँदै सुशासन, पारदर्शिता र सुदृढीकरणमा जोड दिए ।
राखेपका सदस्यसचिव टंकलाल घिसिङले कार्यक्रममा सहभागीको सुझाव सकारात्मक रहेको बताउँदै निकै महत्त्वपूर्ण सुझावका लागि धन्यवाद दिए ।

खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्सालले समस्याको समाधानका लागि पनि समय समयमा यस्तो कार्यक्रम जरुरी भएको बताए ।

राखेप कार्यकारी समिति र बोर्ड सदस्य, खेल संघका पदाधिकारीलगायतको उपस्थितिमा भएको १ दिने कार्यक्रममा सहभागीले १० औँ राष्ट्रिय खेलकुद, खेलाडीले पाउने पुरस्कार, कर्मचारीको दरबन्दी, खेल सामाग्री, अन्तर्राष्ट्रिय एक्सपोजर, लेखा परीक्षण, पेस्की, बेरुजु, प्रशिक्षण स्थल, बजेट, खेल सामग्रीलगायतका विषयमा आआफ्नो धारणा राखेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.