
अरुले नाच्दै गरेको देखेर
मलाई पनि नाच्ने रहर जागेको छ
कोही नाच्दै छन् आफ्नै तालमा
कोही गाउँदै छन् आफ्नै लयमा ।
सबैको ताल आफ्नैछ
सबैको लय पनि आफ्नै
भूमिका नबाँधी भनौं भने
बेसुर बेतालको नाचमा म पनि रमाउदै छु किन हो किन ?
पहिले–पहिले हाम्रो गाउँमा नटुवाहरु नाच्दै गरेको देखेको थिएँ
पुरुषहरु महिलाको भेषमा
सस्तो क्रिम पाउडर दलेर सेतो अनुहार बनाइ
आफनो कृत्रिम अंगहरु हल्लाइ–हल्लाइ ।
नाचेको देखेर रमाउनेहरुको कमी कहा थियो र ?
एक दिन गाउँमा गजब भएको थियो
यौटा नटुवाको नाच्ने क्रममा
उसको एउटा कृत्रिम अंग स्टेजमै खसेको थियो ।
कस्तो बबाल, कस्तो होहल्ला ?
तानातान र हारालुछको गदहमा
एक छिनको लागि नाचै बन्द भयो
हो यस्तै हो,
हाम्रो देशको सरकारको पनि एउटा कृत्रिम अंग खसेको छ ।
नेताहरु प्रहसन गर्दै हिँडेका छन्
र प्रहसन गर्नेहरु दर्शक बन्न बाध्य भएका छन्
किनभने आज जनताहरुलाई
नेताहरुको भाषण र अश्वासन
भन्दा
हास्यकला बढी मन पर्न थालेको छ ।
मरुभूमिको तातो घाममा पसिना काढ्दै
जीवनको नयाँ सपनाहरु बोकेर नाच्दै छन् युवा हाथहरु
अर्काको आकाश मुनि
शरीर भरिका संवेदनशील अंगहरुमा चोट खाएर ।
घाउ र पीडा सहन बाध्य चेलीहरुको
सुन्निएको अनुहार देखेर माया नलाग्ने को होला र ?
पटक पटकको बाढी र भूकम्पले देखाएको मृत्यु नाचको
साक्षी छ सिंहदरबार
र सधैँ रमिते बनेर हेरि रहन्छ सरकार ।
हो सिंहदरबार । तिमीलाई कतिनाच हेर्न मन परेको ?
तिमी राणाकालमा नाच्यौ
पञ्चायतको बेलामा पनि नाच्यौ
प्रजातन्त्रमा पनि नाचेकै हौ
गणतन्त्रको नाच त झन् अलबेला ।
तर, खबरदार । सिंहदरबार
जुनदिन यस देशकाजनताहरु नाच्ने छन्
यहाँका सडक र गल्लीहरुमा
प्रश्न उठ्ने छ तिम्रो अस्तित्वमा
पतन हुने छौ तिमी ।
इतिहासले तिम्रो भग्नावशेषमा टेकेर लेख्ने छ
एउटा नारा
मान्छे नाचेको देश ।
मान्छे नाचेको देश ।।
मान्छे नाचेको देश ।।।



















