
कञ्चनपुरको कृष्णपुरमा छाउपडी गोठमा बस्दा एक महिलाको सर्पदंशबाट मृत्यु भएको खबर अत्यन्तै पीडादायक छ। यो घटना मात्र व्यक्तिगत त्रासदी होइन, सिंगो समाज र व्यवस्थाको गहिरो असंवेदनशीलताको प्रतीक पनि हो।
महिनावारी केवल रगत मात्र होइन, यो महिला हुनुको सुन्दरता र आभास पनि हो । यो प्रक्रिया महिलालाई आमा बन्ने अधिकार दिने प्रकृतिको अनमोल उपहार हो। तर, ‘अपवित्र’ भनी छाउगोठमा बस्न बाध्य बनाउनु तथा महिलालाई शारीरिक तथा मानसिक यातनामा पार्नु निकै क्रूर र अनैतिक छ।
वर्षौंदेखि छाउपडी अन्त्यको आवाज उठाइरहेका छौँ । तर, जरा गाडेर बसेको सामाजिक कुरीति र परम्परागत मान्यता अझै टुटेका छैनन्। सन् २०१७ (वर्ष २०७४)मा छाउपडी प्रथालाई कानुनी रूपमा अपराध घोषणा गरिएको छ । तर, कानून मात्र बनाएर समस्या समाधान हुँदैन। वास्तविक परिवर्तनको लागि समाजको चेतना र सोचाइमा क्रान्ति आवश्यक छ।
पढेलेखेका र जागरूक मान्छेहरुका घरमा पनि महिनावारीका समयमा विभेद देखिन्छ। कुनै ठाउँमा महिलालाई छाउगोठमा रात कटाउन बाध्य पारिन्छ भने कतै भान्साबाट अलग राखिन्छ। यो विभेद र असमानता अन्त्य गर्न नीतिमाथि काम गर्नुपर्छ भने लक्षित वर्गमा चेतना र शिक्षा अभिवृद्धि गर्न पनि जरुरी छ।
राष्ट्रिय विकासको कुरा गर्दा भौतिक संरचना मात्र होइन, सामाजिक चेतना र मानवीय संवेदनालाई पनि समान महत्त्व दिनुपर्छ। छाउगोठको भौतिक निर्माण भत्काउन सजिलो भए पनि मनमा गाडिएको गलत परम्परा भत्किनु नै सबैभन्दा चुनौतीपूर्ण छ।
गाउँघरका धेरै महिला अझै पनि जनावरसँगै बनेका गोठ वा झुपडीमा महिनावारी बिताउन बाध्य छन्। परिवारका सदस्यहरू पनि चेतनशील भइसकेका छैनन्, जसले गर्दा यस्ता दमनकारी प्रथाहरू रोक्न सकिएको छैन।
कुनै पनि समाजको मूल आधार परिवार हो। राज्यले कानुन बनाउन सक्छ, तालिम र सेमिनार आयोजना गर्न सक्छ, विद्यालयले शिक्षा दिन सक्छ । तर, जबसम्म परिवारभित्रका सदस्यहरू संवेदनशील र जागरूक हुँदैनन्, तबसम्म यी प्रयासहरू सार्थक हुँदैनन्।
आमाबुबाले छोरीलाई ‘तिमी अपवित्र छैनौ’ भनी स्वीकार्न नसकेको अवस्था, श्रीमानले ‘तिमीलाई गोठ होइन, मेरो साथ र माया चाहिन्छ ’भन्न नसकेको स्थिति र घरका ज्येष्ठ सदस्यले महिनावारीलाई प्रकृतिको हिस्सा र सामान्य प्रक्रिया ठानेनन् भने छाउपडी प्रथाको अन्त्य कहिल्यै सम्भव हुँदैन।
त्यसैले चेतना अभिवृद्धि कार्यक्रम परिवारदेखि सुरु गर्न आवश्यक छ। राज्यले बनाउने नीति तथा कार्यक्रममा व्यक्तित्व विकास र सामाजिक संवेदनशीलताको पक्षलाई समेत समेट्नु जरुरी छ।
महिनावारीको रगत पवित्र रगत हो । जसले महिलालाई आमा बन्ने सौभाग्य प्रदान गर्दछ। हामी सबैले जीवन पाएको यो अद्भुत उपहारको सम्मान गर्नुपर्छ। महिनावारी केवल स्वास्थ्य वा लैंगिक समानताको विषय मात्र होइन । यो मानव अधिकारसँग सम्बन्धित विषय हो।
परिवर्तन आफ्नो घरदेखि सुरु हुन्छ। विद्यालयमा मात्र होइन, प्रत्येक घरमा खुलेर महिनावारीबारे संवाद हुनुपर्छ। यो विषयलाई लुकाएर वा डराएर होइन, सम्मान र प्रेमका साथ बुझ्नुपर्छ। महिलालाई सामाजिक जीवनमा समान र पूर्ण अधिकार दिइनुपर्छ।
छाउपडी अन्त्यका लागि कानुन आवश्यक छ भने पनि त्यो प्रभावकारी हुन चेतनाको क्रान्ति अपरिहार्य छ। जबसम्म समाजको सोचाइ परिवर्तन हुँदैन, तबसम्म महिलामाथिको यस्ता अत्याचार अन्त्य हुने छैन।



















