मिना र पूर्णिमाको ह्याट्रिकले नेपालको सानदार जित

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ३, शनिबार १७:५५

काठमाडौं । बंगलादेशमा जारी साफ यु २० महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई पराजित गरेको छ ।

मिना देउवा र पूर्णिमा राईको ह्याट्रिकमा नेपालले भुटानलाई ८–० गोल अन्तरमा हराएको हो ।

नेपालको चौथो जित हो । नेपालले ५ खेलमा १२ अंक बनाएको छ भने उपाधिका लागि बंगलादेशविरूद्धको खेल निर्णायक हुनेछ।

मिना र पूर्णिमाले ह्याट्रिक गोल गर्न सफल भए । टोलीका लागि समीक्षा मगर र कुसुम खतिवडाले १–१ गोल गरे ।

खेल सुरुवातको ४४ औँ सेकेन्डमा सरिता कुमारी नाथको क्रसलाई भुटानकी डिफेन्डरले ब्लक गरे पनि मिनाले बललाई सही दिशा दिँदै अग्रता दिलाइन् ।

९ औँ मिनेटमा समीक्षाले हानेको लामो‌ प्रहार क्रसबारमा लागेर आएको बल भुटानकी गोल किपरलाई लाग्दै गोलमा परिणत भयो ।

१२ औँ मिनेटमा नेपालले तेस्रो गोल गर्यो । शुक्रिया मियाले हानेको प्रहारलाई भुटानकी गोल किपरले रोके पनि रिबाउन्डमा ६ यार्ड बक्सभित्रबाट मिनाले हानेको लेफ्ट फुटेट सटले जाली चुम्यो ।

खेलको २३ औँ मिनेटमा मिनाको पासमा पूर्णिमाले क्लोज रेन्जबाट गोल गरिन् । इन्जुरी समयको पहिलो मिनेटमा सरिताको फ्रिकिकमा गोल किपरले मिस जज गर्दा पूर्णिमाको हेडर‌ गोलमा परिणत भयो ।

पहिलो हाफ कै इन्जुरी समयको अन्तिम मिनेटमा डिफेन्डरलाई छलाउँदै पूर्णिमाले उत्कृष्ट गोल गर्दै ह्याट्रिक पुरा गरिन् । पहिलो हाफमा नेपालले ६–० को अग्रता बनायो ।

६३ औँ मिनेटमा शुक्रियाको पासमा कुसुमले गोल गरिन् । लगतै ६४ औँ मिनेटमा शुक्रियाको पासमा मिनाले व्यक्तिगत तेस्रो गोल गरिन् ।

नेपालले सोमबार बंगलादेशसँग खेल्ने छ। त्यो खेलले उपाधिको निर्णय हुनेछ। नेपालले श्रीलंका र भुटान दुवैलाई २ पटक हराएको छ ।

आयोजक बंगलादेशसँगको खेलमा ३–२ गुमाएको नेपालले श्रीलंकालाई दुवै खेल समान ७–० ले हराएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.