नेपाललाई दोस्रोपटक आईसीसीको डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड

Share this
686shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ४, आइतबार १४:३३

काठमाडौं । नेपाली क्रिकेटले फेरि एकपटक अन्तर्राष्ट्रिय स्तरमा गौरव कमाएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान)लाई ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’ प्रदान गरेको छ।

सिंगापुरमा जारी आईसीसीको वार्षिक सम्मेलनमा उक्त अवार्ड घोषणा गरिएको हो। गत वर्ष पनि सोही विधामा विजेता बनेको नेपालले यसपटक लगातार दोस्रो वर्ष डिजिटल फ्यान संलग्नता पुरस्कार जितेको छ ।

डिजिटल प्लेटफर्महरूमा फ्यानहरूसँगको उत्कृष्ट संवाद, सामग्री निर्माण र सामाजिक सञ्जालमा देखिएको चाप्लुसीरहित सहभागिता लगायतका मापदण्डमा नेपालले अन्य देशहरूलाई पछि पार्दै अवार्ड जित्न सफल भएको हो। आईसीसी अध्यक्ष जय शाहले क्यानका अध्यक्ष चतुरबहादुर चन्द, महासचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्कालाई अवार्ड हस्तान्तरण गरे।

अवार्ड ग्रहणपछि क्यान अध्यक्ष चन्दले यो पुरस्कार सम्पूर्ण नेपाली क्रिकेटप्रेमीका लागि हो भन्दै देशबासीप्रति आभार प्रकट गरे। पछिल्ला वर्षहरूमा नेपाली क्रिकेटले उल्लेख्य फड्को मारेको छ।

मैदानभित्रको प्रदर्शनसँगै मैदानबाहिर डिजिटल माध्यमबाट देखिएको फ्यानहरुको सक्रियता उल्लेख्य रूपमा बढेको छ। सामाजिक सञ्जाल प्लेटफर्महरूमा नेपाली क्रिकेट टोली, खेलाडी र खेलप्रति देखिएको उत्साह एवं समर्थन विश्व क्रिकेटमै उदाहरणीय बनेको छ।

विशेषगरी युवा पुस्ताले फेसबुक, युट्युब, इन्स्टाग्राम र एक्सजस्ता माध्यमबाट नेपाली क्रिकेटलाई निरन्तर साथ दिँदै आएका छन्। क्यानले पनि पछिल्लो समय डिजिटल सञ्चारमाध्यममा सक्रियता बढाउँदै नियमित सामग्री प्रकाशन, प्रत्यक्ष संवाद र अनलाइन प्रतिस्पर्धाजस्ता प्रविधिमैत्री कार्यमार्फत फ्यानसँगको सम्बन्ध बलियो बनाउँदै आएको छ।

आईसीसीको यो अवार्डले नेपाली क्रिकेटलाई थप ऊर्जा दिएको छ। नेपालले विश्वस्तरमा आफूलाई डिजिटल युगसँग मेल खाने, सशक्त र फ्यान केन्द्रित क्रिकेट राष्ट्रका रूपमा स्थापित गर्न सफल भएको संकेत यसबाट मिलेको छ । आगामी दिनमा यस उपलब्धिले क्यानलाई अझ योजनाबद्ध ढंगले डिजिटल रणनीति विकास गर्न र अन्तर्राष्ट्रिय स्तरमा थप सम्मानित बन्ने प्रेरणा प्रदान गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.