
काठमाडौं । पब्जी मोबाइल ई स्पोर्ट्स वर्ल्डकप खेल्ने नेपाली टोली होर ई स्पोर्ट्सको मंगलबार (आज) साउदी अरब प्रस्थान गर्ने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ र ई स्पोर्ट्स संघ नेपाल (इशान) का अध्यक्ष अन्जन धमलाले खेलाडी तथा अफिसियलको बिदाइ गरेका थिए ।
खेलाडी तथा अफिसियललाई शुभकामना दिँदै सदस्यसचिव घिसिङले ई स्पोर्ट्स खेलमा नेपालले पछिल्लो समय राम्रो सम्भावना देखाएको उल्लेख गर्दै नेपाली टिमलाई विजेता बनेर आउन शुभेच्छा दिए ।
उनले विदेशी भूमिमा नेपालको प्रतिनिधित्व गर्दै टिम तथा खेलाडीहरूले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।
संघका अध्यक्ष अन्जन धमलाले ई स्पोर्ट्सको अन्तर्राष्ट्रिय नतिजाका लागि सक्दो सहयोग गर्न आफूहरू तयार रहेको बताए ।
पब्जी टिममा खेलाडीको रूपमा आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा, प्रवेश गुरुङ र आयुष लामाले प्रतिस्पर्धा गर्ने छन् ।
म्यानेजरमा उमेश बुढा थापा र अफिसियलमा सञ्जन गौतम र नवराम श्रेष्ठ सहभागी हुने छन् ।
साउदी अरबमा जुलाई २५ देखि अगस्ट २३ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा होर ई स्पोर्ट्स एक्लो टिमको रूपमा छनोट भएको हो ।
काजकिस्तानमा गत महिना भएको पब्जी मोबाइल सुपर लिग सेन्ट्रल तथा साउथ एसियामा दोस्रो स्थानमा रहँदै होर विश्वकपमा छनोट भएको थियो ।
करिब ४१ करोड रुपैयाँ पुरस्कार राशि भएको प्रतियोगिताको विजेताले करिब ७ करोड रुपैयाँ प्राप्त गर्नेछ



















