
काठमाडौं । नेपाल र कुवेतबीच पुरुष तथा महिला क्रिकेटमा नियमित द्विपक्षीय श्रृंखला सञ्चालन गर्ने सहमति भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) र कुवेत क्रिकेट बोर्डबीच भएको समझदारीअनुसार सन् २०२६ देखि प्रत्येक वर्ष दुवै देशका महिला र पुरुष राष्ट्रिय टोलीले टी–२० र ओडीआई (५ ओभरका) खेलहरू खेल्नेछन् । सहमति अनुसार प्रत्येक वर्ष कम्तीमा ३ टी–२० अन्तर्राष्ट्रिय खेल र थप ५० ओभरका खेलहरू आयोजना गरिनेछ ।
यी श्रृंखलाहरू दुवै देशमा पालैपालो गर्ने सहमति भएको छ । क्यानका अनुसार यस सहकार्यले दुवै मुलुकका क्रिकेट खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव दिलाउनेछ भने एसोसिएट राष्ट्रहरूबीच प्रतिस्पर्धी क्रिकेटलाई थप सशक्त बनाउनेछ ।
नेपाल र कुवेत दुवै देश हाल एसोसिएट राष्ट्रका रूपमा आईसीसी अन्तर्गत खेल्दै आएका छन् । दुवै टिम आगामी अक्टोबरमा ओमानमा हुने आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोट प्रतियोगितामा एउटै समूहमा छन् ।
उक्त छनोटमा ९ टोली सहभागी हुनेछन् । जसबाट शीर्ष ३ टोलीले सन् २०२६ को टी–२० विश्वकपमा स्थान सुरक्षित गर्नेछन् । क्यान र कुवेत क्रिकेट बोर्डबीचको यो समझदारी एसोसिएट क्रिकेट राष्ट्रबीच सहकार्यको उदाहरणमात्र नभइ दीर्घकालीन रूपमा खेलको विकास र स्तरीकरणमा महत्वपूर्ण ठानिएको छ ।
नेपालले पछिल्ला वर्षहरूमा पुरुष क्रिकेटतर्फ उल्लेखनीय उचाइ हासिल गर्दै आएको छ भने महिला क्रिकेटमा पनि निरन्तर प्रगति गर्दै आइरहेको छ । कुवेतले पनि दुवै वर्गको क्रिकेटमा लगानी बढाइरहेको सन्दर्भमा यो समझदारीले दुवै देशलाई समृद्ध क्रिकेट साझेदार बनाउने विश्वास गरिएको छ ।



















