
विराटनगर । पुस्तकसँग मेरो सम्बन्ध केवल पढ्ने होइन, डुब्ने पनि हो । एकपटक त्यसको गहिराइमा हराउने, त्यसले बोकेको अनुभूति र अर्थलाई आफ्नै जस्तो महसुस गर्ने।
त्यसैले होला, जब कसैले मलाई कविता उपहार दिन्छ, म केवल कृति मात्र हैन, साथमा अपेक्षा पनि ग्रहण गर्छु । सिर्जनाको गन्ध, संवेदनाको रंग । ‘माझीहाडाम’ त्यही उपहारजस्तै मेरो हातमा आयो ।
यही सन्दर्भमा, कवि रमेशचन्द्र अधिकारीको कविता संग्रह ‘माझीहाडाम’ विमोचित भएपछि मैले कवि धीरज राईसँग सो कृति खुलस्त मागें । उहाँले पनि समीक्षक हैसियतमा होइन, पाठकको रूपमा कविता पढेर उब्जिएका भावहरू लेख्ने सर्तमा संग्रह उपलब्ध गराउनु भयो ।
वास्तवमा, सर्जकको सम्पत्ति र अपेक्षा पनि पाठकीय प्रतिक्रियामै केन्द्रित हुन्छ भन्ने बोध ममा जाग्यो। साहित्य विद्रोह हो, विरह हो, समाजको गहिरो नाप हो । ‘माझीहाडाम’ यही दृष्टिकोणमा आधारित कविता संग्रह हो । बाल्यकालदेखि मनमा बसिरहेको भूगोलको स्मृति र विद्रोहको भावलाई समेटिएको कविताको यो संग्रहले पाठकलाई चिन्तन र अनुभूतिका तहहरूमा डुबाइदिन्छ।
‘माझीहाडाम’ के हो भन्ने बुझ्न मलाई पनि केही समय लाग्यो । म पहाडी मूलको भएकाले यो शब्दसँग अपरिचित थिए । तर, कविले संग्रहभित्रै यसको अर्थ स्पष्ट पारेका छन् । जसले शीर्षकप्रतिको जिज्ञासालाई सम्बोधन गर्छ ।
कविता संग्रहमा जम्मा ६३ वटा कविता छन् । ती कविताहरू बाल्यकालका सम्झनादेखि सुरु भएर अव्यक्त वेदना र लुकाउन नसकिने भावनाहरूमा समापन हुन्छन् । कविले सुरुवाती कविताहरूमा बाल्यकाल, सरलता र समयप्रतिको गहिरो चिन्तन प्रस्तुत गरेका छन् ।

सरल तर, प्रभावशाली विम्ब प्रयोग गरेर पाठकलाई आफ्नै बाल्यकालको गल्लीमा पुर्याउने कविको शैली अत्यन्त सशक्त छ । बालमनोविज्ञान, स्मृति र सौन्दर्यलाई कविले कुशलतापूर्वक बाँधेका छन् । उनले बाल्यकालीन सपना, तिनको संरक्षण र त्यो नहुने स्थितिमा पर्ने असरलाई अत्यन्त शक्तिशाली ढंगले लेखेका छन् ।
प्रेम, सम्झना, भ्रम यी सबै कवितामा फरक–फरक ढंगले पोखिए पनि समग्रतः एउटै धारमा बगिरहेका छन् । कविता भीमसेनको पसिना प्रतीकात्मक र राजनीतिक व्यङ्ग्यले भरिएको छ। प्राचीन धार्मिक पात्र ‘भीमसेन’को नाममा कविले आजको सत्ताको स्वरूप, भ्रष्टाचार र नैतिक पतनको तीव्र आलोचना गरेका छन् ।
भीमसेनलाई पसिना आएको साल
अनिष्ट हुन्छ भन्छन्,
भीमसेनको पसिनाले भिजेर
भीमसिने बोकाहरू
आफ्नै मूतको गन्ध सुँघ्दै
थुतुनो उचाल्ने गर्छन्
र देखाउने गर्छन्
दाँतमा टाँसिएको सत्ताको कामवासना ।
चोटिला विम्बहरू सत्ताका अनुयायीहरूलाई अन्धभक्तको रूपमा चित्रण गर्छन् । जो हरेक अनैतिक क्रियालाई पनि पवित्र ठान्छन् । कविताको प्रत्येक पंक्ति सत्ताको यथार्थप्रति चेतावनी हो ।
यस्तै, अर्को कविता घडीमा समय, प्रभाव र नजिकिने प्रवृत्तिको गहिरो विश्लेषण गरिएको छः
घडीका प्रत्येक अंकहरु चाहन्छन्
काँटाहरू आफ्नै वरपर घुमुन्
राखेर जाउन् हरेक पटक
आफ्नै शिरमाथि हात ।
शक्तिशाली व्यक्तिहरूको वरपर घुम्ने र तिनबाट लाभ लिने सोच, चाकडी प्रवृत्तिको सूक्ष्म आलोचना कविताले गरेको छ । कविले मोरङको रंगेली, तराईका आदिवासी समुदाय, तिनका देवीदेवता र सामाजिक स्मृतिहरूलाई समेत कवितामा समेटेका छन् ।
‘माझीहाडाम’ केवल कविताको संग्रह मात्र होइन । बाल्यस्मृति, विद्रोह, प्रेम, राजनीतिक व्यङ्ग्य र संस्कृतिक आत्मबोधको १ साझा क्यानभास हो । सरल भाषामा लेखिए पनि यसको गहिराइमा डुब्नेलाई समृद्ध बनाउने खालको साहित्यिक यात्रा हो यो ।



















