
साउन महिनामा प्रकृति पनि हरियालीले भरिन्छ । यो हरियालीको रंग महिलाहरूको हातमा मेहेन्दीको रूपमा पनि देखिन्छ । यो चलन पुरानो भए पनि यसका पछाडि लुकेका धार्मिक, वैज्ञानिक र स्वास्थ्यसम्बन्धी कारणहरू धेरैलाई थाहा नहुन सक्छ ।
के हो मेहेन्दी ?
मेहेन्दी, जसको वैज्ञानिक नाम लव्सोनिया इन्मिस (Lawsonia inermis) हो । यो एक औषधीय वनस्पति हो । यसको पातलाई पिसेर बनाइएको लेपले प्राकृतिक रूपमा रातो रंग दिन्छ ।
जब मेहेन्दीको पातलाई पिसेर पेस्ट बनाइन्छ, तब यसबाट लव्सोन (lawsone) नामक प्राकृतिक पदार्थ निस्कन्छ । यो पदार्थ हाम्रो छाला, नङ वा कपालमा रहेको केराटिन (keratin) नामक प्रोटिनसँग मिसिँदा (oxidation) यसको रंग रातो हुन्छ । त्यसैले, मेहेन्दी लगाएपछि केही समयसम्म त्यसलाई सुक्न दिनुपर्छ ताकि यो प्रक्रिया राम्रोसँग पूरा होस् ।
मेहेन्दीको धार्मिक महत्त्व
मेहेन्दीसँग जोडिएको एउटा रोचक किंवदन्तीअनुसार माता दुर्गाले रक्तबीज राक्षसको संहार गर्न महाकालीको रूप धारण गर्दा उहाँको शरीरमा लागेको रगत सुकेर छाला बिग्रेपछि एक औषधीय बोट सिर्जना गर्नुभयो । त्यसैको पातको लेप लगाउँदा उहाँको केश र छाला पहिलेभन्दा पनि सुन्दर बन्यो । भनिन्छ, त्यही बोट नै मेहेन्दी हो ।
साउन महिनालाई भगवान शिवको आराधना गर्ने विशेष महिना मानिन्छ । माता पार्वतीले यही महिनामा कठोर तपस्या गरेर शिवलाई पतिको रूपमा प्राप्त गर्नुभएको थियो । त्यसैले, यस महिनामा महिलाहरू आफ्नो सुहागको दीर्घायु र राम्रो वर प्राप्तिका लागि व्रत बस्छन् । आफ्नो शृङ्गार गरेर देवीलाई प्रसन्न पार्न मेहेन्दी लगाउने चलन यही कारणले सुरु भएको मानिन्छ ।
इस्लाम धर्ममा पनि मेहेन्दीलाई पवित्र मानिन्छ । यसले शारीरिक शुद्धतामा कुनै असर गर्दैन । किनकि मेहेन्दी छालाको भित्री तहसम्म नपुग्ने हुँदा हात धुँदा पानीले छालाको माथिल्लो सतह मात्र सफा गर्छ । त्यसैले इस्लामिक चाडपर्वमा पनि महिलाहरूले मेहेन्दी लगाउने गर्छन् ।
मेहेन्दीका आयुर्वेदिक तथा स्वास्थ्यसम्बन्धी फाइदा
मेहेन्दी केवल शृङ्गारको साधन मात्र नभई यसको औषधीय गुण पनि छ । आयुर्वेदमा यसलाई विभिन्न रोगको उपचारका लागि प्रयोग गरिन्छ । शीतलता प्रदान गर्छ । गर्मी महिनामा हातगोडा पोल्ने वा टाउको दुख्नेजस्ता समस्या भए मेहेन्दीको लेप लगाउँदा शीतलता महसुस हुन्छ ।
कपाललाई प्राकृतिक रंग दिन्छ । सेतो भएका कपाललाई प्राकृतिक रूपमा कालो बनाउन मेहेन्दीको लेप निकै उपयोगी हुन्छ । यसमा कुनै रसायन नहुने हुँदा यसको ‘साइड इफेक्ट’ हुँदैन ।
छालालाई स्वस्थ राख्छ । यसमा एन्टीब्याक्टेरियल र एन्टीफंगल गुण हुन्छ, जसले छालाको संक्रमणबाट बचाउन मद्दत गर्छ ।
ध्यान दिनुपर्ने कुरा चैं बजारमा पाइने सबै मेहेन्दीमा प्राकृतिक पदार्थ मात्र नहुन सक्छ । कतिपयमा रसायन मिसाइएको हुन्छ । त्यसैले, मेहेन्दी किन्दा त्यसको सामग्री र गुणस्तरमा विशेष ध्यान दिन आवश्यक छ ।
यसरी, मेहेन्दी हाम्रो संस्कृति र परम्पराको एउटा अभिन्न अंग बनेको छ । जसको पछाडि धार्मिक आस्थाका साथै वैज्ञानिक र स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण फाइदाहरू पनि जोडिएका छन् ।



















