
विराटनगर । समाजमा व्याप्त महिला विभेद, विद्रोह तथा हक अधिकारका मुद्दा समेटिएको साहित्यकार दीपा दाहालद्वारा लिखित पहिलो कथा संग्रह ‘विजयिनी’ शनिबार विराटनगरमा विमोचन गरिएको छ ।
विराटनगरस्थित आरोहण गुरुकुलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कुन्ता शर्माले पुस्तक विमोचन गर्दै ‘विजयिनी’ लाई महिला विभेद र विद्रोहको अर्को नामका रूपमा व्याख्या गरिन् ।
उनका अनुसार पितृसत्तात्मक समाजमा महिलाले आवाज नउठाएसम्म आफ्नै घरभित्र समेत पीडित भएर गुम्सिनु पर्ने बाध्यता रहँदै आएको छ र यो पुस्तक त्यस्ता विद्रोह र संघर्षको सँगालो हो ।
लेखिका दाहालले आफ्नो पहिलो कथा संग्रहमा पितृसत्तात्मक हिंसाबाट बाहिर निस्कन गरेका कठिन संघर्षलाई मुख्य विषय बनाएको बताइन् ।
पुस्तकका ८ वटा कथामा महिलालाई र २ वटा कथामा पुरुष पात्रलाई प्रमुख स्थान दिइएको छ । उनका अनुसार यो पुस्तक अहिलेका ‘जेन्जी’ नयाँ पुस्ताका लागि धेरै कुरा बुझ्ने अवसर हुनेछ ।
कार्यक्रममा साहित्यकार हरि कोइरालाले ‘विजयिनी’ का ‘कथा हद’ र ‘छोरीको अनुहार’ कथाले विशेष छाप छाड्ने टिप्पणी गर्दै साहित्य क्षेत्रमा महिलाको भूमिका प्रभावकारी हुने धारणा राखे ।



















