
सहिदहरूको लासको खुट्किला टेक्दै
सिंहदरबार पसेपछि
एक्कासि बदलिएर आयो
पल्लाघरे माइलो
सारङ्गीजस्तो पेट घ्याम्पो जत्रै भयो
मरिचजस्तो गाला स्याउ जस्तै भयो
सर्लक्कै फेरियो उसको हुलिया
हिजो मात्रै हो
मेरा छोराहरू
युद्धमा हतियारसँग खेलिरहँदा
मृत्युसँग मुक्ति साटिरहँदा
भट्टीमा लठ्ठीरहेको
तरुनीको यौवनासँग टाँसिरहेको
कि त फलाँस हानिरहेको भेटिन्थ्यो माइलो
जब आफू ढलेर फहर्याइदिए मेरा छोराहरूले मुक्तिको झन्डा
तिनै झन्डाले लाज बेरेर
जोडले स्वतन्त्रताका गीत अलाप्दै
पस्यो सिंहदरबार
जोड्यो थानका थान घरघडेरी
राजधानीतिरै
जसै ऊ छिर्यो सिंहदरबार
तब कुल्चियो सहिदहरूको सपना
बेचिदियो देशका पहाड र नदीनाला
अहिले ऊ
नयाँ व्यवस्थाको नयाँ राजा
म उही पुरानै रैती
चलाइरहेछ ममाथि शासन
केवल माटोको थुप्रामाथि उभिएको माइलोले
कोशीमा बगाइदियो
मलाई खुब सुहाएका र चिनाएका
सबै गरगहनाहरू
भन्छ,
तेरो नेस्से झुन्डाउने कानै तास्नुपर्छ
कल्ही लगाउने खुट्टा गिँड्नुपर्छ
खबरदार,
म त यो धरतीको पुरानो मान्छे
काँसोरे, लखन थापा, अटल राईकी आमा
फेरि गर्भधारण गरिसकेँ
अब लड्छु
एउटा अर्को युद्ध
चुकाउँछु सहिदको बलिदानको मूल्य
र उतारिदिन्छु
लाजेहाङको आलो रगत लत्पतिएको
माइलोको मखुन्डो ।



















