
विराटनगर । हरितालिका तिज नेपाली हिन्दु महिलाको महान् उत्सव हो । तीन दिनसम्म मनाइने यो पर्व नजिकिएसँगै चहलपहल बढ्छ ।
व्रत बस्ने, भगवान् शिवको आराधना गर्ने, पवित्र नदीमा स्नान गर्ने, भजन, कीर्तन तथा पराई घरबाट माइतीको आँगनमा जम्मा भएका चेली रमाइलो गर्दै तिज मनाउँछन् । यो समयमा श्रृंगार गरी सुन्दर देखिनु पनि एउटा विशेषता नै बनेको छ । तर, सुन्दर देखिन गरिने श्रृंगारमा ध्यान नपुर्याउँदा एक दिनको रहर जीवन भरीको कहर पनि बन्न सक्छ । त्यसैले त विज्ञ भन्छन्,’ महिलाहरूले श्रृंगारमा ध्यान नपुर्याए पछुताउनुपर्छ ।’
विराटनगरकी सौन्दर्यकर्मी सायदा तब्सुम तिजमा मात्रै नभइ हरेक समय महिलाहरूले आफ्नो छालालाई राम्रो बनाउन मेकअपमा ख्याल गर्नुपर्ने बताउँछिन् । भन्छिन्, ‘तिजमा छालाको प्रकारअनुसार प्रडक्ट प्रयोग गर्नु निकै जरुरी छ । लामो समय टिक्ने खालकाे मेकअप गर्नु नै उत्तम हुन्छ ।’
‘महँगो प्रडक्ट मात्र राम्रो हो भन्ने होइन, तर सचेत हुनु जरुरी छ । सस्तो प्रडक्ट प्रयोग गर्दा लामो समय अनुहारमा नराख्नुहोस्,’ उनी भन्छिन् ।
तिजमा व्रत बस्ने, मन्दिर जाने र नाच्ने कार्यक्रम हुने भएकाले वाटर प्रुफ प्रडक्टको प्रयोगमा विशेष ध्यान दिनुपर्छ । ‘हेयर स्टाइल गर्दा कपाल खुला नछोड्नु नै राम्रो हुन्छ । खुला कपाल पसिनाले भिज्छ र यसले छालामा असर गर्न सक्छ,’ उनी भन्छिन् ।
लामो समय मेकअप टिकाउन फाउन्डेसनदेखि लिपस्टिकसम्म क्वालिटी र वाटर प्रुफ भएको प्रडक्ट नै प्रयोग गर्न उनी सुझाव दिन्छिन् । ‘अन्य समयमा लुगासँग मेल खाने मेकअप गर्छौं, तर तिजमा रातो, हरियो पहिरन हुने भएकाले हल्का मेकअप गर्नु र आफ्नै छाला अनुसार श्रृंगार गर्नु उपयुक्त हुन्छ,’ उनी भन्छिन् । उनको भनाइ अनुसार सस्तो प्रडक्ट लामो समय प्रयोग गर्दा छालामा समस्या देखिन सक्छ ।
‘महँगो प्रडक्ट मात्र राम्रो हो भन्ने होइन, तर सचेत हुनु जरुरी छ । सस्तो प्रडक्ट प्रयोग गर्दा लामो समय अनुहारमा नराख्नुहोस्,’ उनी भन्छिन् । उनका अनुसार, घरेलु उपायले पनि छालाको हेरचाह गर्न सकिन्छ । ‘ओइली छालामा फिटकीरीलाई चिसो पानीमा राखेर रब गरेर धोएपछि मेकअप गर्दा असर कम हुन्छ । उनी थप्छिन्, ‘मेकअप रिमुभ गर्न एक्स्ट्रा भर्जिन नरिवल तेल वा काँचो दूध प्रयोग गर्न सकिन्छ ।’
सौन्दर्य र स्वास्थ्य दुवैलाई ध्यानमा राख्दै, तिजको अवसरमा हल्का, टिकाउ र छालामैत्री श्रृंगार गर्न उनी सुझाव दिन्छिन् ।

























