
सरल स्वाभकी डुमिसा सानैदेखि पढाइमा निकै रुचि राख्थिन् । गरिब परिवारमा जन्मेकी उनलाई साथीहरुले हेप्थे । स्कुलमा शिक्षकले पनि वास्तै गर्दैन थिए ।
गाउँको परिवेश अनुसार उनका बाले सानै उमेरमा बिहे गरिदिए । त्यतिबेला उनको उमेर मात्रै १५ वर्ष थियो । सानै उमेर । त्यहाँमाथि गरिबीको चपेटा । तर, बिहेपछि पनि धेरै सपना बुन्न भने छाडिनन् ।
सदा रातो शृङ्गारमा सजिएर बस्ने रहर थियो । तर, उनलाई श्रीमानले कहिलेपनि केही किनेर ल्याइदिँदैन थिए । कहिल्यै गुनासो भने नगर्ने उनको बानी थियो ।
त्यति नै बेला छोरीको जन्म भयो । सुखदुःख सबै झेल्दै आए पनि नोकरी गरेको पैसा बचाएर घर बनाइन् । दुखै दुःखको लहरामा जेलिएर भएपनि समाजमा चिनिँदै गइन् । प्रगतिको पाइलामा साथ दिने मान्छेहरू पनि भेटिँदै गए ।
पत्रपत्रिका पढ्नु, बेला–बेला आफै पनि लेख्नु, कार्यक्रममा भाग लिनु आदि कुरा उनका अनपढ श्रीमानलाई भने पटक्कै मन परेको थिएन । कहिलेकाहीँ त झगडा पनि पर्दथ्यो । आत्महत्या गर्ने सोच बनाउँथिन् । तर, छोरीको मुहार सामुन्ने आउँथ्यो ।
चाडबाड आउँछ । माइत जाने बेला होस् या मठमन्दिर जाने बेलामा होस् उनी साधारण पहिरन र फाटेको चप्पलमै जान्थिन् । यो देखेर छोरीले सोधिन्, ‘आमा, सबै जना रातो पहिरनमा सजिन्छन् । हजुरले चाहिँ किन फाटेको मात्र लगाउनु हुन्छ ? राम्रो साडी किन नलगाएको ?’
उनले भनिन्, ‘जुन पुरुषको शब्दकोशमा माया भन्ने शब्द नै छैन, त्यो महिलाले के राम्रो झिल्लिक्क लगाउनु ?,’ बुरुक्क उफ्रदै छोरीले सोधिन्, ‘आमा हजुरको यो शब्द बुझ्न अब म कुन स्कुल जानु ?’



















