‘प्रगतिशील’ तिज र सांस्कृतिक विचलन

Share this
756shares
मुलुकी खबर
दिलिप बान्तावा
clock२०८२ भदौ १०, मंगलबार ०९:५८

रेडियो नेपाल, सुचना र मनोरञ्जनको एक मात्र माध्यम थियो कुनै समय । संविधान मै “हिन्दु अधिराज्य“उल्लेख गरिएको अवस्थामा देशका सबै जसो अंग प्रत्यङ्गहरु “हिन्दु अधिराज्य“ कायम गर्न लागिपर्ने नै भए । त्यसैको प्रतिबिम्ब स्वरुप रेडियो नेपालमा हिन्दु धर्मसँग सम्बन्धित चाडपर्वहरूको समयमा सोही सम्बन्धी सामग्रीहरु अनेकौँ स्वरुपमा प्रस्तुत हुन्थे ।

मलाई भने नाटक खुब मन पर्ने । हरेक शनिबार साढे १ बजे प्रसारण हुने नाटक पर्खी पर्खी  सुन्ने मलाई दशैँको बेला १० दिनसम्म लगातार नाटक सुन्न पाउँदा मेरो लागि त्यो चाहिँ दशैँ हुन्थ्यो। तिहार, स्वस्थानी व्रत कथा होस वा कृष्णाष्‍टमी कृष्ण लिला। त्यही सिलसिलामा आउँथ्यो तिज सम्बन्धी नाटक पनि। माईतिहरु टाढा टाढा भएकी चेलीलाई घरैमा पुगेर लिएर आउने, उनिहरुलाई मेजमान खुवाएर एक दिन भए पनि सुखले बस्ने अवस्था बनाउने, यस्तै यस्तै कथामा आधारित नाटक हुन्थे। तिनै नाटक सुनेर म अगाध भावुक हुन्थेँ। निक्कै पछि मात्र त्यसरी नाटक सुनाउनुको अन्तर्य भने बुझेँ। जतिबेला सुनेँ त्यो समय त मेरो लागि त्यो सुन्दर कला थियो। त्यही कला मार्फत राज्यले मभित्र “हिन्दु अधिराज्य“ रोपेको रहेछ ।

आर्यनमुलका छिमेकीहरु नाटकमा सुने जस्तै चेलिबेटी लिन जान्थे माइतिहरु, तिनलाई ल्याएर मीठो मसिनो तुल्याएर खुवाउँथे। हाम्रा लागि पनि एक छाक मासुभात खाने अवसर बन्थ्यो यो चाड । ब्रतको दिन नजिकैको शिवालय मन्दिरमा सबै जना भेला भएर नाचगान गर्थे।

तिजको “रहर“ (लहर रहेछ भन्ने कुरा पछि मात्र थाहा भयो) आयो बरि लै…

गाउँ शहर खोलेर दिदी र बैनी…..
(गाऔँ स्वर खोलेर दिदी र बहिनी रहेछ।)

यो गीत कहिल्यै पुरानो  लाग्दैन । नेपाली समाजमा तिजको अस्तित्व रहेसम्म यो गीत बजिरहला ।

एक्लै कतै सुस्ताइरहेको मान्छे भए रेडियोमा नारायण गोपालले गाइरहेको “तिजमा पनि बिर्सेछ क्यारे, गरिब माइती…“ गीत सुन्दै उराठ मानेर बसेको भेटिन सकिन्थ्यो । तर, यी गीतहरु क्रमशः बज्न छोडे, न त चेलिमाइतीको त्यो साँस्कृतिक सम्बन्ध नै बाँकी रह्यो ।

आजकल त महिनौं अघिदेखि “तिज“ को ब्यानर झुण्ड्याएर पार्टी प्यालेसमा खानपान र नाचगानको अभूतपूर्व संयोजन गरिएको भेटिन्छ जुन गतिविधिहरु “हरितालिका तिज“ को साँस्कृतिक, धार्मिक मूल्य मान्यतासँग कुनै तादम्यता देखिँदैन । के हामीले हाम्रो संस्कृतिलाई निरन्तरता दिन वा यसलाई जोगाउन खोजिरहेका छौँ या भत्काउन ? कतिपय हिन्दु संस्कृतिमा आधारित चाडपर्वहरु महिला उत्पिडनका आधार भएको कुरा पनि आउँछ । यदी त्यस्तो हो भने असमानताको त्यो पाटोलाई अलग बनाएर त्यसको सकारात्मक मौलिकतालाई निरन्तरता दिनु उचित होला । तर, वर्षमा एक दिन निश्चित तिथीमा पर्ने चाडलाई महिनौंसम्म लगातार मनाइरहँदा त्यसले खर्चने समय र सामर्थ्यले समाजलाई सकारात्मक भन्दा नकारात्मक प्रभाव पो बढी ल्याइरहेको छ कि ? किसिम किसिमका कपडा, महंगा गरगहना जसले वर्गीय विभेद र असमानता प्रशस्तै खडा गरिदिन्छ ।

साथी सङ्गीहरुसँग समावेश हुन्उ नीहरुकै लयमा आफ्नो क्षमता तयार गर्नुपर्यो। सबैसँग उस्तै हैसियत हुदैन । जोसँग त्यो क्षमता हुँदैन उ या त सहभागी हुँदैन या त आफू लघुताभासमा डुबेर सहभागी हुन्छ ।  नभए ऋणपान गरेरै भए पनि साथीहरुको लयमा आफुलाई उभ्याउनुपर्दा आर्थिक व्ययभार बढेर जान्छ । त्यो पारिवारिक तनावको कारण बन्न सक्छ । यसले महिलाहरुलाई उन्मुक्त भएर रमाउन दिएको छ, यो सही हो । तर, ब्यवहारिक पक्षको कुरा गर्दा के उन्मुक्त देखिँदाको मूल्य महंगो भएन र ? अनि के यो चाडको मर्म यति मात्रै हो ?

तिजको अवसर पारेर नेपाली समुदाय पुगेको संसारको हरेक कुनामा अहिले जमघट हुन्छ, नाचगान हुन्छ, खानपान हुन्छ । यो सामाजिक सद्भाव र मूल्य सही छ तर तिजको मौलिकता कहाँ छ त्यहाँ ? आउने पुस्ताले तिजको महत्वलाई कसरी बुझ्लान् ? खानपान, भेटघाट र नाचगान मात्रै बाँकी रह्यो भने निराहार व्रत बस्ने तिजको मुख्य अंश नै हराएपछि यसको अर्थ रहला र ? महिलाहरु त्यसरी हाँसेर, रमाएर नाचगान गर्दा पितृ सत्ताको टाउको दुख्यो ? भन्न सकिन्छ। तर, यसले महिला शशक्तिकरणमा भन्दा पनि महिलाहरुको वर्ग बिभाजन तथा चेतनाको उल्टो यात्रा गराउँछ भन्ने लाग्छ । अझ तिजको नाममा बनेका गीतहरु जहाँ महिलाहरु उन्मुक्त भएर नाच्छन् ती गीत कतिले महिला सशक्तीकरणको कुरा बोकेका छन् तिनको लेखाजोखा बेग्लै ढंगले गरिएला तर महिला अधिकारको गुरुत्वभित्र ती गीत पर्लान् त? हिसाब गर्नु पर्ला।

अर्कातिर लामो समयसम्म आफुलाई प्रगतिशील, क्रान्तिकारी भनाउने पार्टीका संगठनहरु “प्रगतिशील तिज पार्टी“ को ब्यानर राखेर कार्यक्रम आयोजना गर्दछन् । जनतालाई अल्मल्याउने, यथास्थितिमा राखिरहने, उत्पीडन र असमानता बढाउने कुनै पनि चाड पर्व मनाउन हुदैन् भनी बहिस्कार अभियान चलाउने ती क्रान्तिकारी संगठनहरु नै आज नामको अगाडि प्रगतिशील जोडेर आयोजक बनिरहेका छन् । के प्रगतिशील जोड्ने बित्तिकै सबै कर्महरू क्रान्तिकारी भईजाने हुन्? त्यसो त प्रगतिशीलहरुको प्रगतिशीलता स्खलित भएको लामै समय बितिसकेको छ । तर, यथास्थितिबादिहरु भन्दा पनि अघि बढेर यथास्थिति पक्षपोषण नै गरिरहेको यो समय भने टिठ लाग्दो देखिन्छ।  तिम्रो प्रगतिशीलता तिमीलाई नै मुवारक ।

अनि उता आदिवासी समुदाय त साँस्कृतिक हिसाबले साइनो सम्बन्ध नै नभएको तिजमा देखिने ताहुर माहुर र तामझाम त अझ बुझिनसक्नु छ । यो गलत नै त होइन तर यसको पहिलो सरोकार त हिन्दु संस्कार संस्कृतिको समुदाय हुन् । उनीहरुले आयोजना गर्ने उत्सवमा आदिवासी समुदायले ऐक्यबद्धता जाहेर गर्नुपर्ने हो । तर, यो सवालमा पनि तिनै आदिवासीहरुको आफ्नो संगठनहरु नै “तिज पार्टी“ को ब्यानर टाँगेर खानपान र नाचगानको नेतृत्व गरिरहेका छन् ।

धार्मिक, सांस्कृतिक समभाव र सहिष्णुता जरुरी छ, त्यो राख्नुपर्दछ । तर, जसको संस्कृती हो त्यसलाई मनाउने कर्तब्य त्यही समुदायको हो भन्ने लाग्दछ, अर्को समुदायले त त्यसमा ऐक्यबद्धता ब्यक्त गर्ने मात्र हो । नत्र यहाँ ब्राह्मण समुदायले साकेन्वा–साकेलाको आयोजना गर्यो भने के त्यो संगतिपुर्ण देखिएला त? आयोजना गरे पनि उसले साकेन्वा–साकेलाको मुख्य मर्म र मौलिकतालाई जोगाउन सक्दैन ।

तसर्थ, तिज एउटा खास संस्कार, संस्कृतिमा आधारित चाड हो। यसको आफ्नै बेग्लै विधि र तरिका छ। यसका थुप्रै गलत अभ्यास होलान्। तिनलाई हटाउँदै समयानुकुल परिवर्तन गरि यसको मौलिकतालाई यथावत रहने गरि मनाउँदा देशकै लागि एउटा जीवन्त संस्कृती बाँचिरहनेछ।

हुन त हिजो आज सबै जसो चाडपर्वहरु आफ्नो मौलिकताबाट निक्कै टाढा पुगेकै देखिन्छ। दशैँ–तिहार होस वा साकेला÷साकेन्वा, या ल्होसार। यी सबै चाडहरूले बिस्तारै आफ्नो ऐतिहासिक मूल्य मान्यताहरु बिर्सँदै गएको भान हुन्छ। यस्तोमा एउटै तिजले चाहिँ मौलिकतामा रहिरहनु अनिवार्य छ त ? सायद छैन होला….!

तिजको शुभकामना ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.