मोरङ कारागारको शौचालयभित्र महिला कैदी झुन्डिएको अवस्थामा मृत फेला

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ११, बुधबार १०:१५

विराटनगर । विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङको शौचालयभित्र १ जना महिला कैदी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

जेलर गौरव ढुंगेलका अनुसार सुनसरीको बराहक्षेत्र नगरपालिका–६ घर भएकी ३२ वर्षीया राधिका भनिने राधा भट्टराई कारागारको शौचालयभित्र मृत भेटिएकी हुन् । घाँटीमा सलको पासो लगाएर झुन्डिएको अवस्थामा भट्टराईलाई बुधबार बिहान ४ः३० बजेतिर मृत फेला पारिएको ढुंगेलको भनाइ छ ।

‘सलको पासो लगाएर झुन्डिएको अवस्थामा शव फेला पर्यो । शौचालयको ढोकाको चुक्कुल पनि भित्रबाट लगाइएको छ,’ उनले भने । उनका अनुसार प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको छ ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले घटनाको प्रकृति हेर्दा झुन्डिएर आत्महत्या गरेजस्तो देखिने बताइन् । घटनाको जानकारी पाउनसाथ डीएसपी चुँडाल नेतृत्वको टोली अनुसन्धानका लागि खटिएको छ ।

जेलर ढुंगेलले आफन्त र परिवारका सदस्यलाई घटनाको जानकारी गराइसकिएको बताए । ‘आफन्त आइपुगेपछि कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि पठाइने छ । थप कुरा अनुसन्धानबाट खुल्छ,’ ढुंगेलले भने ।

उनले भट्टराईलाई पहिलेदेखि नै ‘डिप्रेसन’को समस्या रहेको पाइएको बताए । उनका अनुसार भट्टराईले २०८० माघ पहिलो साता २ सन्तान (छोरा र छोरी)सहित सप्तकोशी नदीको सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा हामफालेकी थिइन् ।

स्थानीय प्रत्यक्षर्शीले खोलामा हामफालेको देख्नसाथ उनलाई र छोरालाई सकुशल उद्धार गरेका थिए । करिब ६ वर्षकी छोरीको भने मृत्यु भएको थियो । त्यही घटनाको अनुसन्धानका क्रममा उनलाई प्रहरीले २०८० माघ ५ गते पक्राउ गर्यो ।

अनुसन्धान सकिएपछि उनीविरुद्ध जिल्ला अदालत सुनसरीमा कर्तव्य ज्यान मुद्धा दर्ता भयो । अदालतले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न माघ २३ गते आदेश दिएपछि कारागार चलान गरिएको थियो । पछि मुद्दाको किनारा लगाउँदा अदालतले उनलाई जन्मकैद (२५ वर्ष)को सजाय सुनायो ।

जेलर ढुंगेलका अनुसार कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै भट्टराईलाई २०८१ साल कात्तिक ७ गते अदालतले जन्मकैदको सजाय हुने फैसला सुनाएको थियो । फैसला अनुसार उनी जिल्ला कारागार मोरङमा सजाय भुक्तान गरिरहेकी थिइन् ।

सजाय भुक्तानकै क्रममा सलको पासो लगाएर झुन्डिएको अवस्थामा कारागारभित्रको शौचालयमा शव फेला परेको हो । जिल्ला कारागार मोरङमा हाल २ जना आश्रित बालकसहित १ सय ७ जना महिला कैदीबन्दी रहेका छन् । जेलर ढुंगेलका अनुसार भट्टराईसहित १ सय ८ जना महिला कैदीबन्दी थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.