
काठमाडौं । लामो समयदेखि अड्किएको संघीय निजामती सेवा विधेयकको प्रतिवेदन मंगलबार राष्ट्रियसभामा पेस गरिएको छ ।
राष्ट्रियसभाको बैठकमा विधायन व्यवस्थापन समिति सभापति तुलसाकुमारी दाहालले प्रतिवेदन पेस गर्दै विधेयकले निजामती सेवामा महत्वपूर्ण नयाँ व्यवस्था ल्याएको जानकारी दिइन् । प्रतिवेदनअनुसार अब राजीनामा दिएर वा अवकाश प्राप्त गरेपछि कर्मचारीले २ वर्षसम्म सरकारी, संवैधानिक, कूटनीतिक वा अन्य नियुक्ति लिन नपाउने प्रावधानलाई विधेयकमा समेटिएको छ ।
दाहालका अनुसार यसलाई ‘कुलिङ अफ पिरियड’ को रूपमा राखिएको छ । जसले अवकाश पाइसकेका वा राजीनामा दिएका कर्मचारीलाई पुनः राज्यसत्तासँग प्रत्यक्ष सम्पर्क हुने पदमा तत्काल प्रवेश गर्न रोक लगाउनेछ ।
समितिले प्रस्तुत गरेको प्रतिवेदनमा विधेयकको अन्य प्रावधानसमेत समावेश गरिएको भए पनि यस प्रावधानलाई विशेष ध्यानपूर्वक छलफल गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । राष्ट्रियसभाले अब यस प्रतिवेदनका आधारमा विधेयकलाई अगाडि बढाउने छ ।

























