मन्त्री हाङगामले गाडी खोसेपछि मन्त्रालय गएनन् सचिव

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १७, मंगलबार १८:५३

विराटनगर । कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङगामले आफू चढ्ने गाडी खोसेपछि सचिव डा. शरणकुमार पाण्डे मंगलबार मन्त्रालय नै गएनन् ।

मन्त्री हाङगामले डा. पाण्डे चढ्ने गाडीको चाबी सोमबार खोसेका थिए । चाबी खोसेपछि पाण्डेले असुरक्षित महसुस गरेका छन् । दादागिरी शैली अपनाउने मन्त्री हाङगाम विगतमा पनि अनेक विवादमा मुछिएका छन् ।

उनले ताप्लेजुङका तत्कालीन प्रहरी प्रमुख डीएसपी राजन लिम्बू (हाल एसपी) र उनको परिवारलाई ज्यान मार्ने धम्की नै दिएका थिए । मन्त्रीको हर्कतका कारण कर्मचारीहरुले समेत असुरक्षित महसुस गरिरहेका छन् ।

मन्त्रीले मनपरी गर्न थालेपछि सुरक्षाका लागि मन्त्रालयमा मंगलबार दिनभर प्रहरी मगाउनु परेको १ कर्मचारीले बताए । कर्मचारीको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको थियो । मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले सुरक्षाका लागि बिहानदेखि प्रहरीको टोली मन्त्रालयमा खटाइएको जानकारी दिए ।

मन्त्री र उनका समर्थकले सचिव तथा अन्य कर्मचारीमाथि आक्रमण गर्ने सम्भावना रहेको प्रहरीको विश्लेषण छ । सचिव पाण्डे सोमबार गाडी चढेर मुख्यमन्त्री कार्यालय गएका थिए ।

त्यहाँबाट बाहिर निस्किँदा आफूले चढेको गाडी देखेनन् । पछि मन्त्री हाङगामले सवारी चालकमार्फत सचिव चढ्ने गाडीको चाबी कब्जा गरेको पत्ता लाग्यो । कर्मचारीहरुका अनुसार मन्त्री हाङगाम सचिव पाण्डेसँग सुरुदेखि नै सन्तुष्ट थिएनन् ।

गत साउनमै पाण्डेको सरुवा भए पनि उनले मुख्यमन्त्रीसँगको समन्वयमार्फत सरुवा थमौती गराएको बताइन्छ । कर्मचारीहरुका अनुसार मन्त्री हाङगामले मन्त्रालयका करारका कर्मचारी र सवारी चालक १० जनालाई कामबाट निकालेर आफ्ना मान्छे राख्नका लागि सचिवलाई दबाब दिएका थिए ।

त्यो कुरा सचिव पाण्डेले अस्वीकार गरेपछि उनीसँग मन्त्री हाङगाम क्रुद्ध बने । विवादपछि मन्त्री हाङगाम मंगलबार गृहजिल्ला ताप्लेजुङतर्फ लागेका छन् । सचिव पाण्डे भने मन्त्रालय गएनन् । कर्मचारीहरुका अनुसार पाण्डेले असुरक्षित महसुस गरेका छन् ।

‘मन्त्री र उहाँका समर्थकले आक्रमण गर्न सक्ने भन्दै सचिवज्यू मन्त्रालय आउनु भएन । मन्त्रीज्यू पनि जिल्ला जानु भयो,’ १ कर्मचारीले भने । स्रोतका अनुसार सचिव पाण्डेले १ साताको बिदा लिएर चितवनस्थित घर जाने तयारी गरेका छन् ।

घटनाप्रति कर्मचारीका तथा पेसागत संघ संस्थाहरूले समेत आपत्ति जनाएका छन् । नेपाल फिसिरिज टेक्निसियन एसोसिएसन, नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनले संयुक्त विज्ञप्ति जारी गर्दै मन्त्रीले सचिवको गाडीको चाबी खोसेको घटनाले सार्वजनिक सेवामा नकारात्मक सन्देश दिएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक र प्रशासनिक नेतृत्वबीच विश्वास, सद्भाव र सहकार्यलाई मजबुत बनाउनुपर्ने बेलामा यस्तो घटना हुनु दुःखद छ ।’ विभिन्न संघ संस्थाले घटना अमर्यादित र अपमानजनक भन्दै चिन्ता व्यक्त गरेका छन् । भविष्यमा यस्ता विवाद दोहोरिन नदिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

सचिव पाण्डे यस घटनापछि चुपचाप देखिएका छन् । तर, निकट स्रोतका अनुसार पाण्डेले निक्कै असहज र असुरक्षित महसुस गरेका छन् । मन्त्रालय नगएको विषयमा बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । बारम्बार गरेको फोन उठाएनन् ।

कोशीका कृषिमन्त्री हाङगामले खोसे सचिवको गाडी

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.