
विराटनगर । झापामा प्रहरीले तास खेल्दा पक्राउ परेकाहरुको विवरण सार्वजनिक गरेको छ । बिर्तामोड नगरपालिका–८ किसनभिट्टाबाट बिहीबार राति ११ जना पक्राउ परेका थिए ।
ओमनाथ उप्रेतीको घरको दोस्रो तलामा सञ्चालित तासको खालमा प्रहरीले राति १० बजेतिर छापा हानेको थियो । छापा हान्ने क्रममा घरधनी ५० वर्षीय उप्रेतीसहित ११ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्ने अन्यमा बिर्तामोड–८ का ३५ वर्षीय कालीप्रसाद राजवंशी, ५३ वर्षीय भानु दाहाल, ४६ वर्षीय राजन भट्टराई, ३१ वर्षीय दिलिपप्रसाद राजवंशी र २५ वर्षीय निरज रोक्का रहेका छन् । त्यस्तै, बिर्तामोड–८ कै २९ वर्षीय मनिष पौडेल, ३५ वर्षीय कुवेर मैनाली, २६ वर्षीय मनोज पौडेल, २७ वर्षीय स्वस्तिक ओली र ३० वर्षीय प्रीतम उप्रेती पनि पक्राउ परेका छन् ।
पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । उनीहरुको साथबाट १ बुङ तास, २ लाख १५ हजार ५ सय ५० रूपैयाँ नगद र ९ वटा मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाका इन्स्पेक्टर प्रवीण श्रेष्ठले बताए ।
प्रहरीले यसअघि तासको खालबाट पक्राउ परेकाहरुको पूर्ण विवरण लुकाउन खोजेको थियो । सबैको नाम र विवरण सार्वजनिक गर्न अस्वीकार गर्दा प्रहरीको भूमिका शंकास्पद देखिएको थियो ।

























