
सुर्खेत । कालिकोटको दुर्गम क्षेत्रबाट आकस्मिक उद्धार गरी सुर्खेत ल्याइँदै गर्दा हेलिकप्टरमै जन्मिएकी शिशुको कर्णाली प्रदेश अस्पताल पुर्याउनुअघि नै मृत्यु भएको छ। रक्तस्रावको समस्या भएपछि कालिकोटको तिलागुफा नगरपालिका-९ की २० वर्षीया अबिसा खत्री लाई सोमबार बिहान करिब ९ बजे नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत ल्याइँदै थियो।
कर्णाली प्रदेश अस्पतालका वरिष्ठ नर्सिङ अधिकृत कल्पना थापा का अनुसार, अबिसालाई आइतबार राति १ बजेदेखि नै रक्तस्राव भएको थियो। परिवारले सोमबार बिहानै उनलाई गाउँको चिलखाया स्वास्थ्य संस्थामा लगेका थिए, तर त्यहाँ अवस्था गम्भीर देखिएपछि कर्णाली प्रदेश अस्पतालमा रिफर गरिएको थियो। सुत्केरी व्यथाले बेस्सरी च्यापेपछि अबिसाले बिहान ९ बजेर ५० मिनेट जाँदा हेलिकप्टरमै शिशु जन्माएकी थिइन्।
वरिष्ठ नर्सिङ अधिकृत थापाले भनिन्, ‘शिशु जन्माएपछि चिच्याएको थियो भनेर भन्नुभएको छ, तर १० बजेर ३० मिनेटमा कर्णाली प्रदेश अस्पतालमा आइपुग्दा शिशु जीवित थिएनन्।’ अस्पतालका चिकित्सकले शिशुलाई मृत घोषणा गरेका थिए।
थापाका अनुसार, अबिसाको गर्भ करिब २४ हप्ता ६ दिनको थियो। २४ हप्ताको शिशुलाई बचाउन गाह्रो हुने र त्यसमाथि रक्तस्राव तथा हेलिकप्टरमै जन्मिएकाले शिशु जीवित रहने सम्भावना कम रहेको उनको भनाइ छ। शिशुको ज्यान गए पनि आमा अबिसाको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ। उनी अहिले कर्णाली प्रदेश अस्पतालमा चिकित्सकको निगरानीमा छिन्।

























