
काठमाडौं । जेन-जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका नेपाल प्रहरीका अधिकांश संरचनाहरू डेढ महिनाको अवधिमै नयाँ स्वरूपमा फर्किएका छन् । उल्लेखनीय कुरा के छ भने, यी क्षतिग्रस्त संरचनाहरू राज्यकोषको रकमबाट नभई नागरिक समाज, संघ-संस्था र स्थानीयको सहयोगमा पुनर्निर्माण भएका हुन् ।
भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा देशभरका ४ सय ६५ प्रहरी कार्यालयमा क्षति पुगेको थियो । तीमध्ये १ सय १८ वटा संरचना पूर्णरूपमा ध्वस्त भएका थिए भने ३ सय ४७ वटामा आंशिक क्षति पुगेको थियो ।
काठमाडौं उपत्यकामा मात्रै २ सय १० वटा संरचनामा क्षति पुगेको थियो । क्षतिग्रस्त कुल ४ सय ६५ मध्ये ४ सय ३६ वटा कार्यालय पुनर्स्थापना भइसकेका छन् ।
यी संरचनाहरूको पुनर्स्थापनामा राज्यकोषबाट कुनै रकम खर्च गर्नु परेको छैन । नागरिक समाज, स्थानीय वासिन्दा र संघ-संस्थाहरूको सहयोगमा झन्डै २५ करोड रुपैयाँको लगानीमा यी संरचनाहरू बनाइएका हुन् । अझै २८ वटा संरचना नागरिककै सहयोगमा पुनर्निर्माणको चरणमा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीको मनोबल बढाउन र मुलुकमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन नागरिक स्वयम् अग्रसर भएर संरचना बनाइ दिनुलाई नागरिक र प्रहरीबीचको विश्वासको वातावरण मजबुत बनाउने सकारात्मक कदमको रूपमा हेरिएको छ । पुनर्निर्माणपछि प्रहरी कर्मचारीहरूलाई शान्ति सुरक्षा कायम गर्नेदेखि दैनिक नियमित काम गर्न सहज भएको छ ।

























