मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको प्रक्रियाविरुद्ध रिट

Share this
775shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २५, मंगलबार ११:४१

जनकपुरधाम । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको प्रक्रियाविरुद्ध प्रदेशसभाका सांसदहरूले सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी गरेका छन् । संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेश प्रमुखले ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेको कार्यलाई असंवैधानिक भन्दै विपक्षी गठबन्धन सर्वोच्च अदालत पुगेका हुन् ।

प्रदेशसभाका कुल ७४ जना सांसदको हस्ताक्षरसहित नेपाली कांग्रेस, जसपा नेपाल, माओवादी केन्द्र र लोसपाका नेताहरू रिट दिन सर्वोच्च अदालत पुगेका हुन् । रिट लिएर जाने दलका नेताहरूमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी केन्द्र संसदीय दलका उपनेता युवराज भट्टराई र लोसपा संसदीय दलका नेता जयलुन राइन छन्। उनीहरूलाई रिट निवेदनमा सहयोग गर्न मधेश प्रदेशका पूर्व मुख्यन्यायाधिवक्ता दीपेन्द्र झा समेत साथमा छन् ।

गत आइतबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम ठूलो दलको हैसियतले नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

यस नियुक्तिलाई ‘दलहरूलाई छलेर गरिएको’ भन्दै नेपाली कांग्रेससहितका दलहरू आक्रोशित बनेका छन् । उनीहरूको आक्रोश थप बढ्नुको कारण प्रदेश प्रमुख भण्डारीले सोमबार बिहान बिरामी भएको बहाना बनाउँदै काठमाडौँ जान लागेको भन्दै महोत्तरीको बर्दिबासस्थित पानस होटेलमा नवनियुक्त मुख्यमन्त्रीलाई शपथ ग्रहण गराउनु थियो ।

यसैबीच, होटेलमा मुख्यमन्त्रीलाई शपथ खुवाउने घटनाका कारण विवादमा आएकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी भने पदमुक्त भइसकेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार भण्डारीलाई पदमुक्त गरेका हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.