
विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित ग्रामीण सुधार सामुदायिक वनको फोहोर फाल्ने स्थान नजिकै एकैपटक १३ वटा बाख्रा तथा बोकाहरू मृत अवस्थामा फेला परेका छन् ।
मङ्गलबार बिहान करिब ७:४५ बजे बाख्राहरू मृत भेटिएपछि स्थानीय पशुपालकहरू चिन्तित बनेका छन् । इलाका प्रहरी चौकी, कानेपोखरीबाट करिब २ किलोमिटर दक्षिणतर्फको क्षेत्रमा यो घटना भएको हो ।
यसरी मरेका बाख्राहरूमा स्थानीय ४० वर्षीय वकिल राईका ६ वटा बाख्रा (अनुमानित मूल्य ५२ हजार), ५० वर्षीय बलराम दाहालका ६ वटा बाख्रा बोका (अनुमानित मूल्य ५५ हजार) र सोही स्थानका ५० वर्षीय गोविन्द कार्कीको एउटा बाख्रा (अनुमानित मूल्य १५ हजार) रहेको प्रहरीले जनाएको छ ।
बाख्राहरूको मृत्यु किन र कसरी भयो भन्नेबारे हालसम्म केही खुल्न सकेको छैन । घटनाको जानकारी प्राप्त भएलगत्तै प्रहरी घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरिसकेको छ।

























