देशको दुःख: गाउँ रित्तो, सहरमा अराजकता

मुलुकी खबर
रिसव गौतम
clock२०८२ मंसिर १०, बुधबार १५:१०

२०८२ मंसिर ९ गते अर्थात् हिजो मंगलबारको गोरखापत्र दैनिकमा ‘फ्रन्ट पेज’मै एउटा यस्तो समाचार थियो: ‘गाउँसँगै विद्यालय पनि रित्तिँदै’। हुन त सो समाचारले अहिलेको शासन, प्रशासन र राजनीतिलाई के पो फरक पार्ला र? कसले पो सुन्ला देशका दुर्दन्त कथाहरू? त्यसमाथि हालैको ‘जेनजी’ विद्रोह, त्यसपछिको ट्र्याक बाहिरको राजनीति, दलहरूबीचको टकरवाफ, बेइमानी, दिनहुँको आन्दोलन, अराजकता र अशान्तिको मौसममा ती समाचारहरू कसलाई के फरक पर्छ र? उद्योग धन्दा बन्द हुने र राजनीतिक दलहरू खुल्ने अनि नयाँ–नयाँ रङ्गी–बिरङ्गी नेताहरू जन्मिने मौसममा ती समाचारको के अर्थ?

तर, सो समाचारको अन्तर्य कथाले सोझो आम नेपालीलाई झस्काउँछ।

समाचारमा भनिएको छ, “गाउँ छोडेर अधिकांश मानिसहरू बालबच्चा बोकेर भारत पलायन हुँदा बैतडीका ११४ वटा आधारभूत विद्यालय बन्द हुँदैछन्।” गत वर्षको तुलनामा मात्रै बैतडी जिल्लाका सामुदायिक विद्यालयमा झन्डै ८ हजार विद्यार्थी घटेका छन्। खासगरी बेरोजगारीकै परिणाम स्वरूप त्यसरी मानिसहरू गाउँबाट घरै ताल्चा लगाएर बाहिरिएका छन्। पहाडी जिल्लाहरूमा त त्यसरी बाहिरिनेहरूले घरै नफर्किने गरी छोडेर हिँडेका छन्।

एउटा जिल्लाकै अवस्था यस्तो छ भने पूरै देशको अवस्था र कथाको अन्तर्य कस्तो होला? कसले गर्ने त्यसको वास्तविक अध्ययन? त्यसरी गाउँ नै छोडेर, देशै छोडेर मानिसहरू पलायन भइरहँदा किन दुखेको छैन देशको टाउको?

अहिले गाउँ छोड्ने, घरै छोड्ने र देशै छोड्ने समस्याको चुरो कारण बेरोजगारी हो। सरकारले हरेक वर्षको बजेटमा देश नै खाली हुने डरलाग्दो बेरोजगारी समस्यालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने होइन र? बजेटको मूल प्राथमिकता त्यसैमा हुनुपर्ने, नीतिको प्राथमिकता त्यसैमा हुनुपर्ने र दलहरूको प्राथमिकता त्यसैमा हुनुपर्ने हो नि! जनतालाई देशमा बस्ने वातावरण बनाउन नसक्नेहरूले देशलाई सिङ्गापुर वा स्वीट्जरल्यान्ड बनाउँछौँ भनेर किन खोक्नु?

सहर अराजकताको केन्द्र

सहरप्रति मानिसहरूको मोह घट्दो छ। तर, मानिसहरू थुप्रिनुपर्ने बाध्यताको केन्द्र बनिरहेको छ सहर। किनकि अवसर र रोजगारी केन्द्रीकृत भएकाले पनि सहर बाध्यताको केन्द्र हो। खासगरी सङ्घीय प्रणाली लागू गरिए पनि त्यसको वास्तविक रूपमा लागू नगरिँदा, सङ्घीयताका सिद्धान्तहरू अलपत्र पर्दा देशले उही राजतन्त्रकालीन पुरानो अवस्था झेलिरहेको छ।

खासगरी सहर अराजकताको केन्द्र पनि बनिरहेको छ। यहाँ मानवता हराएका छन्। यहाँ शक्ति र पैसा हुनेहरूले जे गर्दा पनि हुने अवस्था छ। कानुनको परिपालना निकम्मा भएकै कारण सहर अशान्त र अस्तव्यस्त छ।

अन्यत्र सहरहरू शान्तिको केन्द्र बनिरहँदा, सुविधा र अवसरहरूको केन्द्र बनिरहँदा नेपालका सहरहरू अराजकताले जकडिएका छन्। ४० लाखभन्दा बढी मानिस बसोबास गर्ने काठमाडौँ उपत्यका (काठमाडौँ, ललितपुर र भक्तपुर) झन् बढी अशान्त बनिरहेको छ।

बढ्दो विद्रोही गतिविधि र राजनीतिक अस्थिरता

घरी माओवादी जनयुद्धको प्रभाव, घरी भूकम्पको मार, घरी कोरोना तथा डेङ्गुको प्रकोप, घरी बाढी तथा डुबान।
हुँदा–हुँदा अहिले त नयाँ पुस्ताको गम्भीर चुनौती र विद्रोहले सहर आक्रान्त छ। दिनहुँ देशव्यापी समूहहरूको आन्दोलन हुन्छन्। आन्दोलन गर्छौँ भनेर धम्की दिनेहरू त कति कति! जलेका घर सम्पत्ति, सरकारी कार्यालयहरूका खरानी टकटकाएका छैनन्। फेरि आन्दोलन गर्ने धम्कीहरू एक होइन अनेक कोणहरूबाट आइरहेका छन्।

राजतन्त्रवादीहरू आन्दोलनमा थिए, आन्दोलन फेरि गर्छौँ भनिरहेका छन्। जेनजीहरू पढाइ लेखाइ छाडेरै आन्दोलनमा छन्। भनिरहेका छन्, ‘पुराना राजनीतिक दलहरूले अति गरे, भ्रष्टाचार गरे, देश नाफाकम बनाए, विकास गरेनन्।’ उनीहरू फेरि पनि आफ्ना माग र मुद्दा सम्बोधन नभए आन्दोलन नै गर्छौँ भनिरहेका छन्।

कतिपय ठूला भनिएका राजनीतिक दलहरू समेत निर्वाचन आयोगमा लाजगाजले दल त दर्ता गराएका छन्, च्याखे थापेका छन्, तर फागुन २३ अघिको अवस्था फर्काउन उनीहरू हरहमेशा लागिरहेका छन्। एमालेले त जेनजी आन्दोलन र विद्रोहको परिणाम स्वीकार नै गरेको छैन, संसद् पुनर्स्थापनाका लागि आन्दोलनरत छ। सर्वोच्च अदालतमा संसद् पुनर्स्थापनाका लागि मुद्दा दायर गरिसकेको छ। फागुन २१ मा निर्वाचन हुन्छ वा कथाले अर्कै रूप लिन्छ भन्न सकिने अवस्था छैन। यद्यपि अन्तरिम सरकार चुनाव गर्छौँ, फागुन २१ गते चुनाव हुन्छ भनिरहेको छ। तयारी पनि राम्रैसँग गरिरहेको देखिन्छ। द्वन्द्वात्मक अवस्थालाई भड्काउनु भन्दा निर्वाचनका लागि सालिन रूपमा, भव्य रूपमा सरकार लागिरहेको देखिन्छ।

देशमा एक हिसाबको रमिता चलिरहेको देखिन्छ। भविष्यमा के हुन्छ थाहा छैन। तर, यति हो, देश झन्–झन् अराजकता र अशान्तितर्फ उन्मुख छ। खासगरी त्यो अराजकता र अशान्ति प्रमुख सहरहरूमा बढी केन्द्रित छ। आनन्दले आफ्नै पेशा, व्यवसाय गरेर शान्तिको जीवन गुजार्न चाहनेहरू अनेक कोणबाट पीडित छन्। भविष्यको दृष्टिकोण गर्ने हो भने देशमा बस्ने माहोल नै छैन। यो अराजकता सहेर, यो अशान्तिको भड्कालोमा रुमलिएर कसलाई बस्न मन होला र?

नागरिकको अपिल र आह्वान

धेरैले देशप्रति भरोसा गुमाएका छन्। यो सङ्कटपूर्ण घडीमा पुराना दलहरू–नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, नयाँ उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, मधेशवादी दलहरू सबैले विवेक गुमाएनन् र चुनावमा भाग लिए। चुनाव हुने वातावरण आफ्नो तर्फबाट बनाए भने चुनाव हुन्छ र मुलुक नयाँ मोडमा अघि बढ्ला पनि। किनकि जेनजी आन्दोलनको हालैको तीव्रताले यसपटक धेरै युवा पुस्ताहरू चुनिएर आउने सम्भावना छ।

यदि दलहरू सङ्गठित भएनन् र निर्वाचन आफ्नै बोली र व्यवहारका कारण बिथोलिए देश बर्बाद हुनेछ। जनप्रतिनिधि विहीन हुनेछ। अस्थिरता र विदेशीहरूको खेल मैदान हुनेछ। त्यसकारण हरेक विवेकशील नागरिकले स्थिति फड्काउने होइन, शान्ति र स्थिरता सहित निर्वाचनको माहोल बनाउनु पर्छ। अन्यथा आम नेपाली जनताको भविष्य अन्धकारमय हुनेछ।

सहरको बेहाल

अहिले त काठमाडौँ उपत्यकाकै कुरा गर्ने हो भने तरकारी, खाद्यान्न लगायतका उपभोग्य वस्तुहरूमा महँगी अकासिएको छ तर कसले त्यसको नियन्त्रण गर्ने? बिहान र साँझ रिङ्गरोडमा गुड्ने बसहरूमा मान्छेहरू चढ्न सक्ने अवस्थामा छैनन्, जहाँ जताततै लुटिने, कुटिने अवस्था छ। सहचालक तथा गाडीवालाहरूको यात्रु प्रतिको व्यवहार उस्तै हेपाहा, कर्कशलाग्दो छन्। उपत्यका भित्रिने र बाहिरिने गाडीहरूले चाडपर्वका नाममा जति पनि भाडा असुलेका छन्, कसले नियन्त्रण गर्ने?

सहरमा अपराधीहरू बढी रहेका छन्। गाँजा, लागू दुर्व्यसनी गर्नेहरू बढिरहेका छन्। रक्सी खाएर मातेका मान्छेहरू यत्रतत्र भेटिन्छन् र उनीहरूले मान्छेहरूलाई तर्साइरहेका छन्। सताइरहेका छन्। कसले नियन्त्रण गर्ने?

हालैको जेनजी आन्दोलनको क्रममा ३ जना नेपाल प्रहरीले शहादत प्राप्त गरे। एक हजारभन्दा बढी घाइते भए र देशभरिका प्रहरी कार्यालयहरू जले। जसका कारण उनीहरूको मनोबल कमजोर भएको देखिन्छ। त्यसमाथि ६ हजारभन्दा बढी हतियार र एक लाख गोलीगट्ठा हराएका छन् त्यस क्रममा। ५ हजारभन्दा बढी जेलमा रहेका अपराधीहरू भागेका छन्। अनि भन्नुहोस् त समाज कति त्राहिमाम छ अहिले! त्यहाँ अपराधी, हातहतियार प्रहरीको नियन्त्रण बाहिर छ। जसले समाजलाई तर्साइरहेको छ। ती हतियार लिएर भागेकाहरूले समाजमा भित्रभित्र कति पीडा दिइरहेका होलान्, कतिलाई सताइरहेका होलान्। त्यसको अनुमान गर्न सकिँदैन। अनि यो सहर कसरी शान्त हुन सक्छ? कसरी बस्न लायक छ?

प्रहरीका दर्जनौँ हतियारधारी सिपाहीहरू लिएर बसेका नेता, पूर्वप्रमुखहरू समेतले असुरक्षा भयो, सुरक्षा पाऊँ भनिरहेका छन् भने आम नागरिक जोसँग केही छैन, अभाव र गुनासाहरू बाहेक उनीहरू कसरी शान्त भएर बसून्? त्यसकारण सरकारले काठमाडौँ उपत्यका लगायतमा यस्ता अराजकताहरू दमन गरोस्। त्यसका लागि प्रयत्न गरोस्।

काठमाडौँ उपत्यका मात्रै होइन, देशका प्रमुख सहरहरूको हाल करिब उस्तै हुँदैछ। सहर अवसरको केन्द्र बन्नुपर्नेमा अराजकता र अव्यवस्थाको केन्द्र बनिरहेको छ।

गाउँ बस्न लायक तर रित्तिँदै

हिजोआजका दिनहरूमा नेपालका सुदूर गाउँहरू बस्न लायक भइरहेका छन्। गाउँहरूमा बाटोघाटो पुगेको छ। सञ्चार र विद्यालयहरू पुगेका छन्। तर, मानिसहरू भने गाउँबाटै भागिरहेका छन्। गाउँले मान्छे खोजेको छ, मान्छेहरू गाउँबाट सहर र सहरबाट देशै छोडेर भागिरहेका छन्। यो सबै कुशासनले गर्दा हो।

कोही पनि मन्त्री, प्रधानमन्त्री भएपछि ‘ग्राउन्ड रियालिटी’ भन्दा पर रहे। अघिल्लो वर्ष नेकपा एमाले सरकार विमुख हुँदा उसले मध्यपहाडी लोकमार्ग भएर पूर्व-पश्चिम जागरण अभियान चलायो। माओवादीले पनि त्यसै गर्‍यो। त्यस क्रममा पहाडमा कम्तीमा ५ लाख घरहरू रित्ता रहेको, छोडेर मानिसहरू तराई वा सहर छिरेका वा देशै छोडेका भनेर अनुमान गरियो। हालै लमजुङका केही गाउँहरू डुल्दा पशुपति खेमकाले पनि धेरै घरहरू ताल्चा लगाइएका, मानिसहरू हराएका देखेको हो।

अहिले नेपालको सतप्रतिशत गाउँठाउँमा बिजुली, सञ्चार पुगिसकेको छ। सडकहरू जताततै पक्की रूपमै पुगिसकेका छन्। सीमित ठाउँहरूलाई थाती राखेर गाउँमा खानेपानीको पनि अभाव छैन। तरकारी, फलफूल र अन्नपात त गाउँमै फल्ने भइहाल्यो। स्वच्छ हावापानी सहित बस्न लायक हुँदै गएको गाउँलाई मानिसहरू लात मारिरहेका छन्। विकृति र विसङ्गतिको सहरी छद्मभेषी मानिसहरू ओत लागिरहेका छन्।

यसको एउटै कारण बेरोजगारी हुन सक्छ। वास्तवमा गाउँमा रोजगारी कम छ। गाउँलेहरूले अलिअलि उत्पादन गरेका अन्नपातहरू पनि बेच्ने बजार छैन। त्यसलाई सरकारले कहिल्यै सम्बोधन गरेन। गाउँमा मानिसहरू अडिन त्यहाँ रोजगारी र आम्दानी हुनेगरी वातावरण बन्न सक्नुपर्छ। अनिमात्र गाउँ रित्तिने छैन र छोडेर गएकाहरू फर्किनेछन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.