गुणस्तरहीन पाइएपछि प्यारासिटामोल ट्याब्लेट बजारबाट फिर्ता गर्न निर्देशन

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १२, शुक्रबार १३:३६

काठमाडौं। औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको प्यारासिटामोल ट्याब्लेट (सेटोफेन, ब्याच नं. सीटी २७२३) लाई बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ।

राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा उक्त ब्याचको औषधि न्यून गुणस्तरको पाइएपछि विभागले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्री–वितरण रोक्का गरी उद्योगलाई बजारबाट फिर्ता गर्न आधिकारिक निर्देशन जारी गरेको हो।

विभागले रिकल गर्न निर्देशन दिएको सम्बन्धित ब्याचको उत्पादन मिति २०२३ जुन र म्याद सकिने मिति २०२६ मे रहेको छ। अर्थात, म्याद गुज्रन अब करिब ६ महिना मात्र बाँकी छ तर यो औषधि बजारमा करिब अढाइ वर्षदेखि निर्वाध बिक्री–वितरण हुँदै आएको थियो। विभागले बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका औषधिका नमुना संकलन गरी परीक्षण गरिने र मापदण्डविपरीत पाइएमा सम्बन्धित ब्याच रिकल गरिएको जनाएको छ।

औषधि ऐनको दफा १२ मा हरेक औषधि जनस्वास्थ्यका लागि सुरक्षित, प्रभावकारी र गुणस्तरीय हुनुपर्ने स्पष्ट व्यवस्था छ। सोही दफाले बजारमा पुगिसकेको कुनै औषधि गुणस्तरहीन ठहरिएमा उत्पादकले आफैँ फिर्ता लिनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.