बक्सिङमा सफलता: चन्द्र थापाले पक्का गरे विश्व च्याम्पियनसिपमा कास्य पदक

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २५, बिहीबार १५:२२

काठमाडौं । आइबीए मेन्स विश्व बक्सिङ च्याम्पियनसिप २०२५ मा नेपालले अन्तर्राष्ट्रिय बक्सिङको सर्वाधिक प्रतिष्ठित प्रतियोगितामा अभूतपूर्व सफलता हात पारेको छ। ५४ केजी तौलसमूहका नेपाली खेलाडी चन्द्र थापा मगरले सेमिफाइनल प्रवेशसँगै नेपालका लागि कम्तिमा ऐतिहासिक कास्य पदक जित्ने निश्चित गरेका छन्।

थापाले इरानी बक्सरलाई एकमत निर्णय (अनानिमस डिसिजन) का आधारमा पराजित गर्दै कास्य पदक पक्का गरेका हुन्। यसअघि उनले इन्डोनेसिया र आर्मेनियाका बक्सरलाई पनि पराजित गरेका थिए। यो जितसँगै थापाले न्यूनतम ७५ हजार अमेरिकी डलर (नेपाली १ करोड ७ लाख बढी) पुरस्कार रकम सुरक्षित गरिसकेका छन्।

Advertisement

अब सेमिफाइनलमा उनले सन् २०२१ का विश्व च्याम्पियन तथा टोकियो ओलम्पिकका कास्य विजेता कजाकस्तानका बक्सर साकेन बिबोसिनोभसँग प्रतिस्पर्धा गर्नेछन्। यदि उनले फाइनलमा स्थान बनाएमा पुरस्कार रकम १ लाख ५० हजार अमेरिकी डलर (२ करोड १४ लाख बढी) पुर्‍याउने छन्, जुन नेपाली बक्सिङ इतिहासको सबैभन्दा ठूलो उचाइ हुनेछ।

अर्का नेपाली बक्सर लालबहादुर उप्रेती (४८ केजी तौलसमूह) ले पनि प्रभावशाली प्रदर्शन गरे। उनले इथोपिया र माल्दोभाका बक्सरलाई पराजित गर्दै क्वाटरफाइनलसम्मको यात्रा तय गरे। क्वाटरफाइनलमा कजाकस्तानका बक्सरसँग पराजित भएपछि उनी बाहिरिए। तर उनले पनि आफ्नो प्रदर्शनबापत १० हजार अमेरिकी डलर (१४ लाख २९ हजार बढी) पुरस्कार रकम सुरक्षित गरेका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.