विनोद ढकालको पराजयः जननिर्वाचनमा पटक–पटक असफल, पार्टीकै प्रतिनिधिबाट पनि अस्वीकृत

Share this
655shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ३, बिहीबार १९:०१

विराटनगर । मोरङको राजनीतिमा बलियो पकड बनाएका नेता विनोद ढकाललाई नेकपा एमालेको ११ औँ महाधिवेशनले पदाधिकारीमा अस्वीकृत गरेको छ ।

पार्टी केन्द्रको प्रतिस्पर्धामा उनी स्पष्ट रूपमा अस्वीकृत भएका हुन् । सचिव पदमा उम्मेदवारी दिएका ढकाल पुछारबाट पाँचौँ स्थानमा सीमित हुँदै पराजित भए । ६६४ मतमा खुम्चिएको परिणामले उनको व्यक्तिगत राजनीतिक यात्रालाई मात्रै नभएर पछिल्लो समय उनले बोकेको इतर राजनीतिप्रतिको विश्वासलाई पनि गम्भीर प्रश्नको घेरामा ल्याइदिएको छ ।

पार्टीभित्र पछिल्लो ३ वर्षयता सबैभन्दा खुलेर नेतृत्वविरुद्ध बोल्ने नेतामध्ये अग्रपंक्तिमा रहेका ढकालको पराजयलाई सामान्य हारका रूपमा लिन नसकिने एमाले नेता कार्यकर्ता बताउँछन् । केन्द्रीय नेतृत्व, विशेषतः अध्यक्ष केपी शर्मा ओलीविरुद्ध प्रश्न उठाउन धेरै नेताहरू हिच्किचाउँदा विराटनगरबाट ढकालले निरन्तर आवाज उठाउँदै आएका थिए ।

कुनै समय ओलीका निकट मानिने ढकाल २०८० असोजपछि स्पष्ट रूपमा इतर समूहको अगुवाइमा देखिन थाले । पार्टीको कोशी प्रदेश अधिवेशनबाट घनश्याम खतिवडालाई सर्वसम्मत अध्यक्ष बनाउने ओलीको चाहना एवं प्रयासविपरीत चुनौती दिँदै अध्यक्षमा उम्मेदवारी दिएर ढकालले पार्टीभित्र खुलेआम विद्रोहको संकेत गरेका थिए ।

त्यो विद्रोह प्रदेशमा सफल हुन सकेन । निर्वाचनबाट खतिवडा अध्यक्षमा निर्वाचित हुँदा ढकालले पराजय बेहोरे । तर, त्यसले ढकाललाई इतर धारको प्रमुख वक्ताका रूपमा स्थापित गर्‍यो ।

प्रदेश अधिवेशनमा पराजित भए पनि ढकाल पछि हटेनन् । बरु उनले इतर राजनीतिलाई जिल्ला र नगर तहसम्म विस्तार गरे । २०८१ फागुनमा सम्पन्न एमाले मोरङ जिल्ला अधिवेशनमा संस्थापन पक्षको मजवुत समूहलाई पराजित गर्दै ढकाल समूह विजयी भएको परिणामले उनलाई स्थानीय राजनीतिमा थप बलियो बनायो ।

एमालेको विराटनगर महानगर अधिवेशनमा पनि ढकाल समूहको प्यानल नै विजयी भयो । यी परिणामहरूले ढकाललाई ‘जिल्ला जित्न सक्ने नेता’को छवि दियो र इतर पक्षभित्र उनको आत्मविश्वास बढायो ।

यही पृष्ठभूमिमा उनी ११ औँ महाधिवेशनमा केन्द्रीय सचिव पदका लागि उम्मेदवार बने । ईश्वर पोखरेलको समूहबाट उम्मेदवारी दिएका ढकाललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नजिक मानिनु पनि उनका लागि राजनीतिक पूँजीकै रूपमा हेरिएको थियो ।

भण्डारीलाई एमालेमा सक्रिय भूमिकामा फर्कन नदिने पार्टीको निर्णयविरुद्ध खुलेर बोल्ने थोरै नेतामध्ये ढकाल अग्रपंक्तिमा थिए । तर, यही स्पष्टता र आक्रामक राजनीतिक शैली नै केन्द्रमा उनको कमजोरी बन्न पुगेको देखिन्छ ।

प्रदेश र जिल्लामा देखिएको विद्रोही ऊर्जा केन्द्रीय महाधिवेशनबाट मतमा रूपान्तरण हुन सकेन । प्रतिनिधिहरूले उनलाई नेतृत्वको वैकल्पिक अनुहारका रूपमा स्वीकार गरेनन् ।

पार्टीभित्र लामो समयदेखि योगदान दिएका, संगठन विस्तारमा सक्रिय, मोरङमा ‘होल्ड’ जमाएका ढकाल केन्द्रमा भने अपेक्षित समर्थन जुटाउन असफल भए । महाधिवेशनमा ढकालले हात पारेको असफलताले स्थानीय प्रभाव र केन्द्रीय स्वीकार्यता फरक कुरा हुन् भन्ने स्पष्ट सन्देश दिएको छ ।

ढकालको राजनीतिक यात्रामा पराजय नयाँ होइन । बरु पराजय नै उनको यात्राको स्थायी सहयात्री बनेको देखिन्छ । २०६५ सालको संविधानसभा उपनिर्वाचनमा उनी नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग पराजित भए ।

२०७४ सालमा विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसकै भीम पराजुलीसँग हार बेहोरे । २०७९ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ बाट तत्कालीन सत्तारुढ गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदीसँग पराजित भए ।

जननिर्वाचनमा पटक–पटक पराजय भोग्दै आएका ढकाल पार्टी संगठनमा भने अघि बढिरहेका थिए । तर, जनताबाट प्रत्यक्ष अनुमोदन नपाएको यथार्थले उनको राजनीतिक विश्वसनीयतामाथि सधैँ प्रश्न उठाइरहेको थियो ।

११ औँ महाधिवेशनको परिणामले यही प्रश्नलाई थप बलियो बनाएको छ । जननिर्वाचनमा असफल हुँदै आएका ढकाल अहिले पार्टीभित्रकै आन्तरिक प्रतिस्पर्धामा पनि प्रतिनिधिबाट अस्वीकार भएका छन् ।

यसले उनको राजनीतिक यात्राको भविष्यबारे पार्टीभित्र र बाहिर दुवैतर्फ गम्भीर बहस सुरु गराएको छ । विश्लेषकहरूका अनुसार ढकालको समस्या विचार वा संगठनात्मक क्षमताभन्दा बढी उनको व्यक्तिगत स्वभावसँग जोडिएको छ ।

पार्टीभित्र गुट निर्माणमा बढी केन्द्रित हुने, संवादभन्दा टकराव रोज्ने र रुखो स्वभावका नेता भएको आरोप उनीमाथि लाग्ने गरेको छ । लामो समय पार्टीमा योगदान दिए पनि यही स्वभाव जननिर्वाचनका बेला मतदाताका लागि असहज बनेको र त्यसको असर पार्टीको महाधिवेशनमा समेत देखिएको बताइन्छ ।

भोजपुरमा जन्मिएका ढकाल शिक्षक विष्णुप्रसाद ढकालका सात छोरी र तीन छोरामध्ये कान्छा हुन् । २०४१ सालमा भोजपुरको प्याउलीस्थित शारदा माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि उनी मोरङ झरे र २०४२ सालदेखि विराटनगरको राजनीतिमा निरन्तर सक्रिय रहे ।

अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेका ढकाल २०४२ देखि २०४५ सम्म विराटनगर नगर कमिटी अध्यक्ष बने । २०४७ सालमा अनेरास्ववियुको मोरङ जिल्ला अध्यक्ष निर्वाचित भई २ कार्यकाल नेतृत्व गरे र केन्द्रीय कमिटीको उपाध्यक्षसम्म पुगे ।

ढकालले विराटनगर ल क्याम्पसबाट बीएल र त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् । विराटनगरको एभरेष्ट बोर्डिङ स्कुलका अध्यक्षसमेत रहेका उनी २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनविरुद्ध आन्दोलन गर्दा ६ महिना जेलसमेत बसे ।

२०६६ सालमा एमाले मोरङ अध्यक्ष निर्वाचित भएका ढकाल पार्टीको १० औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए । यति लामो राजनीतिक यात्रा, संगठनमा गहिरो संलग्नता र संघर्षका अनुभव हुँदाहुँदै पनि ढकाल किन पटक–पटक निर्णायक मोडमा असफल हुन्छन् भन्ने प्रश्न अहिले एमालेभित्र गम्भीर रूपमा उठ्न थालेको छ ।

कतिपयले उनलाई ‘काम गर्ने भिजन भएको तर मानिस जोड्न नसक्ने नेता’को रूपमा चित्रण गर्छन् । कतिपय भने पार्टीभित्र गुटको खेती र कठोर व्यवहार नै उनको सबैभन्दा ठूलो कमजोरी भएको निष्कर्ष निकाल्छन् ।

११ औँ महाधिवेशनको परिणामबाट विनोद ढकालको राजनीतिमा अगाडि बढ्ने यात्रामा केही हिसाबले ‘ब्रेक’ लागेको रूपमा बुझ्न थालिएको छ । प्रदेश र जिल्लामा देखिएको विद्रोह केन्द्रीय तहमा पुगेर अस्वीकारमा परिणत भएको छ ।

एमालेका नेता कार्यकर्ताहरु अब ढकालका अगाडि २ विकल्प देख्छन् । आफ्नो राजनीतिक शैली र व्यवहारमा आत्मसमीक्षा गर्दै पार्टीभित्र स्वीकार्य बन्ने प्रयास गर्ने वा निरन्तर टकरावको राजनीतिमा सीमित हुँदै जाने भन्ने विकल्प ढकालका लागि रहेको उनीहरुको बुझाइ छ ।

उनीहरुका अनुसार जननिर्वाचनमा बारम्बारको प्रयासमा पनि जनताको विश्वास जित्न नसकेका पार्टीकै प्रतिनिधिबाट पनि स्वीकृत हुन नसक्नु ढकालका लागि दुर्भाग्यपूर्ण हो । एमालेको पछिल्लो महाधिवेशनले पार्टीभित्रै भए पनि विश्वास जित्न नसक्दा लामो राजनीतिक इतिहास पनि निर्णायक क्षणमा काम नलाग्न सक्छ भन्ने सन्देश दिएको विश्लेषण गर्न थालिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.