मोरङको बूढीगंगास्थित नेमुवामा २ पांग्रे सवारीसाधनका चालकलाई सडकमै रोकेर ट्राफिक नियम सम्बन्धी प्रशिक्षण दिँदै कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी दीपक गिरी ।विराटनगर । कोशी प्रदेशमा पछिल्लो समय २ पांग्रे सवारीसाधन दुर्घटनामा पर्ने क्रम उल्लेख्य रूपमा बढ्दै गएको छ ।
दुर्घटनाको भयावह तथ्यांकले सडक सुरक्षामा चुनौती थपिएको छ । तर, २ पांग्रे सवारीसाधन दुर्घटनाबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न ट्राफिक प्रहरीले कोशी प्रदेशमा नयाँ शैलीको विशेष अभियान सुरु गरेको छ । ‘२ पांग्रेका चालकसँग २ मिनेट’ नाम दिइएको अभियान अहिले कोशी प्रदेशका १४ वटै जिल्लामा सञ्चालनमा छ ।
सडकमा गुडिरहेका मोटरसाइकल र स्कुटरका चालकलाई रोक्दै ट्राफिक प्रहरीले २ मिनेट समय लिएर ट्राफिक नियम, सडक अनुशासन र सुरक्षित यात्राका विषयमा प्रत्यक्ष जानकारी दिन थालेको छ । त्यसका लागि कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी दीपक गिरी आफैं फिल्डमा खटिएर चालकहरुलाई प्रशिक्षण दिइरहेका छन् । बढ्दो २ पांग्रे सवारी दुर्घटनालाई नियन्त्रण गर्ने व्यवहारिक र प्रभावकारी प्रयासका रूपमा अभियानलाई लिइएको छ ।
जाडो मौसम सुरु भएसँगै हुस्सु, चिसो र दृश्यता कमजोर हुने अवस्थाले पनि दुर्घटनाको जोखिम बढाउँछ । यस अवधिमा चालकलाई प्रत्यक्ष सचेत गराउन आवश्यक देखिएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए । उनका अनुसार अभियानअन्तर्गत सडकमै रोकेर चालकलाई हेल्मेटको अनिवार्य प्रयोग गर्नुपर्ने, फिता राम्ररी बाँध्नुपर्ने, तीव्र गतिमा चलाउन नहुने, लेन अनुशासन र पार्किङ निषेधको पालना, जथाभावी ओभरटेक गर्न नहुने, सवारीसाधनको यान्त्रिक अवस्थाको नियमित चेकजाँच, मोबाइल फोन प्रयोग नगरी सवारी चलाउनुपर्ने, मापसे (मादक पदार्थ सेवन) र लापसे (लागु पदार्थ सेवन) गरेर सवारी चलाउन नहुनेजस्ता आधारभूत तर अत्यन्त महत्वपूर्ण विषयमा सम्झाइन्छ ।
नियम उल्लंघन देखिए प्रचलित कानुनअनुसार कारबाही गरिने स्पष्ट सन्देश चालकलाई दिने गरिएको इन्स्पेक्टर न्यौपाने बताउँछन् । दुर्घटना न्यूनीकरण कारबाहीबाट मात्रै सम्भव नभएका कारण चालक, सहचालक, पैदलयात्री र सम्पूर्ण सडक प्रयोगकर्ता सचेत एवं जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।
ट्राफिक प्रहरीले सूचना, शिक्षा र प्रविधिको संयोजनमार्फत सडक सुरक्षा प्रवद्र्धन गर्ने नीति लिएर ‘२ पांग्रेका चालकसँग २ मिनेट’ अभियान सुरु गरेको हो । विद्यालय तहदेखि नै ट्राफिक सचेतना दिन सकिए दीर्घकालीन रूपमा दुर्घटनाको दर घटाउन सकिने निष्कर्षसहित प्रदेशस्तरीय योजना बनाउन ट्राफिक प्रहरी जुटेको छ ।

ट्राफिक प्रहरीका अनुसार २ पांग्रे सवारीसाधनका चालकहरूमा हेल्मेट नलगाउने तथा फिता नबाँध्ने, तीव्र गतिमा सवारी चलाउने, ट्राफिक संकेतको अवज्ञा गर्ने, अनधिकृत पार्किङ गर्ने, लाइसेन्स बिना सवारी चलाउने र मोबाइलमा कुरा गर्दै सवारी हाँक्ने प्रवृत्ति अझै पनि व्यापक छ । यही लापरबाही नै अधिकांश दुर्घटनाको प्रमुख कारण बनेको तथ्यांकले देखाउँछ ।
ट्राफिक नियम उल्लंघनले मृत्युको जोखिम अत्यधिक बढाउने भएकाले नियम पालनालाई संस्कारका रूपमा विकास गर्नुपर्नेमा ट्राफिक प्रहरीको जोड छ । कारबाहीलाई प्रभावकारी र पारदर्शी बनाउन ट्राफिक प्रहरीले प्रविधिको प्रयोगलाई पनि प्राथमिकता दिँदै आएको छ । तीव्र गतिमा चलाइएका सवारीसाधनको निगरानीका लागि राडरगन, मापसे चेकजाँचका लागि ब्रेथलाइजर र लापसे परीक्षणका लागि विशेष कीट प्रयोग गरिँदै आएको छ ।
यसले नियम उल्लंघन नियन्त्रण गर्न सहयोग पुगेको भए पनि चालकको व्यवहारमा सुधार नआएसम्म दुर्घटनामा उल्लेख्य कमी ल्याउन कठिन रहेको ट्राफिक प्रहरीको भनाइ छ । कोशीका ट्राफिक प्रमुख एसपी गिरीका अनुसार ट्राफिक प्रहरी दिनरात सडकमा खटिएर सूचना, शिक्षा र प्रविधिको प्रयोग गर्दै नियम पालना गराउने प्रयासमा छ । तर, चालक, यात्रु र पैदलयात्री सबै जिम्मेवार नभएसम्म दुर्घटना न्यूनीकरण सम्भव नहुने उनको भनाइ छ ।
ट्राफिक नियमको पालना नगर्दा मृत्यु निम्तिन सक्छ भन्ने यथार्थ सबैले बुझ्नुपर्ने उनी बताउँछन् । १ सेकेण्डको लापरबाहीले पनि ज्यान जान सक्ने भएकाले सडक प्रयोग गर्दा उच्च सतर्कता अपनाउनुपर्नेमा गिरीको जोड छ । ‘कोशी प्रदेशमा ट्राफिक प्रहरीले सचेतनामूलक कार्यक्रम, नियमित चेकजाँच र कारबाहीमार्फत दुर्घटना न्यूनीकरणका लागि महत्वपूर्ण पहल गरिरहेको छ,’ उनी भन्छन्, ‘तर, यो एकल प्रयासले मात्र सम्भव हुँदैन ।’
ट्राफिक प्रहरीले सार्वजनिक गरेको तथ्यांकले पनि कोशीमा २ पांग्रे सवारीसाधन दुर्घटनाको गम्भीरता स्पष्ट पार्छ । मंसिर महिनामा मात्रै कोशी प्रदेशमा ८ सय ६२ वटा सवारीसाधन दुर्घटनामा परेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठले बताए । उनका अनुसार दुर्घटनामा ३२ जनाको मृत्यु भएको छ भने ९ सय ७९ जना घाइते भएका छन् ।
दुर्घटनामा परेका सवारीमध्ये सबैभन्दा धेरै २ पांग्रे सवारीसाधन छन् । कुल दुर्घटनामध्ये ४ सय ८१ वटा मोटरसाइकल र स्कुटर दुर्घटनामा परेका छन् । जसमा १९ जनाको मृत्यु र ६ सय ५ जना घाइते भएका छन् । समग्र दुर्घटनाको तथ्यांक हेर्दा २ पांग्रेको दुर्घटना ५६ प्रतिशत हो ।
त्यस्तै, बस र माइक्रो ४४ वटा दुर्घटनामा परेका छन्, जसमा २ जनाको मृत्यु र ९५ जना घाइते भएका छन् । सीटी सफारी र अटो टेम्पो १ सय ३ वटा दुर्घटनामा पर्दा १ जनाको मृत्यु र १ सय १२ जना घाइते भएका छन् । कार, जिपजस्ता निजी सवारीसाधन ६५ वटा दुर्घटनामा परेकामा २ जनाको मृत्यु र ५३ जना घाइते भएका छन् ।
ट्याक्टर ३६ वटा दुर्घटनामा पर्दा ७ जनाको मृत्यु र १८ जना घाइते भएका छन् । ट्रक, टिपर, डोजरलगायत ४२ वटा दुर्घटनामा १ जनाको मृत्यु र १४ जना घाइते भएका छन् । अन्य सवारीसाधन ९१ वटा दुर्घटनामा पर्दा ८२ जना घाइते भएका छन् । तथ्यांकले कोशी प्रदेशमा सडक दुर्घटनाको सबैभन्दा ठूलो जोखिम २ पांग्रे सवारीसाधनबाटै रहेको स्पष्ट देखाउँछ ।

यही वास्तविकतालाई आधार बनाएर ट्राफिक प्रहरीले ‘२ पांग्रेका चालकसँग २ मिनेट’ अभियानलाई तीव्र बनाएको हो । सडकमा गुडिरहेका २ पांग्रे सवारीसाधनलाई रोक्दै चालकको २ मिनेट समय लिएर प्रत्यक्ष प्रशिक्षण दिने, नियमको महत्व बुझाउने, सुरक्षित यात्राका लागि प्रेरित गर्ने र नियम उल्लंघन नगर्न सचेत गराउने कार्य यस अभियानको मुख्य उद्देश्य हो ।
सडकमै २ मिनेट प्रशिक्षण दिएर चालकलाई पुनः यात्रामा पठाउने यो अभ्यासलाई दुर्घटना न्यूनीकरणको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । डीएसपी श्रेष्ठका अनुसार नियम उल्लंघनको बाटो नभई जीवन रक्षाको बाटो रोज्न चालक स्वयं तयार हुनुपर्छ । ‘ट्राफिक नियमको पालना गरेर सुरक्षित यात्राको संस्कार बसाल्न सके मात्र अनमोल जीवन जोगाउन सकिन्छ,’ श्रेष्ठ भन्छन्, ‘२ पांग्रे सवारीसाधन लक्षित अभियानले दुर्घटना र त्यसबाट हुने क्षतिमा कमी ल्याउने अपेक्षा गरिएको छ ।’

























