
विराटनगर । भारतबाट भन्सार छली गरेर विराटनगरमा भित्राइएका खाद्य पूरक सामग्री ढुवानी व्यवसायीकै मिलेमतोमा खुलेआम ओसारपसार हुँदै आएको तथ्य बाहिर आएको छ ।
सशस्त्र प्रहरी बलको कारबाहीपछि विराटनगरमा हरि श्रेष्ठले सञ्चालन गर्दै आएको पञ्चबुद्ध ढुवानी सेवा नक्कली बिलबिजक खडा गरी तस्करीका सामान गन्तव्यसम्म पुर्याउने माध्यम बनेको पाइएको हो । सशस्त्र प्रहरी बल मोरङले सोमबार विराटनगर महानगरपालिका–५ स्थित बिजुली अफिस नजिकैबाट ठूलो परिमाणमा अवैध खाद्य पूरक सामग्री लोड गरिएको ट्रक नियन्त्रणमा लिएको छ ।
यो घटनाले ढुवानी व्यवसायको आडमा भइरहेको संगठित तस्करीलाई सतहमा ल्याएको हो । भारतबाट क्यारिङमार्फत भित्राइएका सामग्रीलाई पञ्चबुद्ध ढुवानी सेवाको गोदाममा संकलन गरी नक्कली कागजात तयार पार्दै धरानलगायत पहाडी बजारतर्फ पठाउने गरिएको सार्वजनिक भएको छ ।
प्रदेश १–०२–००१ ख ९७४२ नम्बरको ट्रकमा २ हजार ८ सय ८० थान खाद्य पूरक सामग्री लोड गरिएको अवस्थामा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजेश घिमिरेले बताए । बरामद सामग्रीको मूल्य ५ लाख ७६ हजार रुपैयाँ बराबर आँकलन गरिएको छ । ट्रकको मूल्य करिब ४ लाख रुपैयाँ तोकिएको छ ।
एसपी घिमिरेका अनुसार लामो समयदेखि भइरहेको निगरानी र प्राप्त विशेष सूचनाका आधारमा कारबाही सम्भव भएको हो । क्यारिङमार्फत अवैध रूपमा ल्याइएका सामान पहिले ढुवानी सेवामा भण्डारण गरिने र त्यहाँबाट नक्कली बिल बनाएर गन्तव्यतर्फ पठाउने गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पञ्चबुद्ध ढुवानी सेवामार्फत धरान पठाउने तयारी भइरहेका बेला सशस्त्रले खाद्य पूरक सामग्रीसहितको ट्रक नियन्त्रणमा लिएको हो । सशस्त्रले ट्रक चालक मोरङको धनपालथान गाउँपालिका–६ का रोशनकुमार राजवंशीलाई पनि नियन्त्रणमा लिइएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा राजवंशीले नै पञ्चबुद्ध ढुवानी सेवासँग मिलेर अवैध सामग्री ओसारपसारको सम्पूर्ण ‘सेटिङ’ मिलाएको खुलेको सशस्त्र प्रहरीले जनाएको छ । ढुवानी सेवाका सञ्चालक श्रेष्ठको शंकास्पद भूमिकाका बारेमा पनि अनुसन्धान आवश्यक रहेको र कागजात, कारोबार तथा नेटवर्क खोतल्ने काम भइरहेको स्रोतले बतायो ।
बरामद सामग्री तथा नियन्त्रणमा लिइएको ट्रक र पक्राउ परेका चालकलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइसकिएको सशस्त्रले जनाएको छ । ढुवानी व्यवसायको नाममा भइरहेको यस्तो अवैध धन्दामा संलग्न अन्य व्यक्ति, व्यापारी र ढुवानी सञ्जालका बारेमा थप अनुसन्धान अगाडि बढाइएको भन्सार कार्यालयले जनाएको छ ।
पछिल्लो समय चिकित्सकको सिफारिसमा खाद्य पूरक सामग्री प्रयोग गर्ने क्रम बढेसँगै यसको माग पनि तीव्र बनेको छ । यही मागलाई अवसर बनाएर भारतबाट अवैध आयात, भन्सार छल्ने, म्याद गुज्रिएका सामग्रीमा नयाँ लेबल टाँसेर बजारमा पठाउनेजस्ता गतिविधि विराटनगर क्षेत्रमा निरन्तर दोहोरिँदै आएका छन् ।
यसअघि पनि विराटनगर–५ का विपिन झालाई यस्तै गतिविधिमा संलग्न रहेको आरोपमा राजस्व अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो । उनले म्याद सकिएका खाद्य पूरक सामग्रीमा नयाँ लेबल लगाएर बिक्री वितरण गर्ने र भारतबाट भरिया प्रयोग गरी तस्करी गर्ने गरेको खुलेपछि मुद्दा चलाइएको थियो ।
पछि उनी धरौटीमा रिहा भए पनि खाद्य पूरक तस्करीको श्रृंखला भने रोकिएको देखिँदैन । ढुवानी कम्पनीकै प्रत्यक्ष संलग्नतामा भइरहेको पछिल्लो घटनाले विराटनगर हुँदै पूर्वी पहाडी जिल्लातर्फ हुने अवैध व्यापार संगठित र सुरक्षित रूपमा सञ्चालन भइरहेको पुष्टि हुन्छ ।
नियमन र अनुगमन कमजोर भएका कारण ढुवानी व्यवसाय तस्करीका लागि सहज माध्यम बन्दै गएको भन्दै सम्बन्धित निकायबाट कडा निगरानी र जिम्मेवार व्यक्तिमाथि कारबाही अपरिहार्य रहेको सरोकारवाला बताउँछन् । सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी कुमार न्यौपानेले सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रणमा लिन सशस्त्र प्रहरीलाई विशेष निर्देशन दिएका छन् ।
उनले तस्करीलगायत सबै खालका अवैध गतिविधि नियन्त्रणमा लिन नेपाल–भारत सीमा क्षेत्र लक्षित विशेष कारबाही सुरु गरेका छन् । ‘सीमा सुरक्षा र चोरी तस्करीलगायतका अवैध एवं कानुनविपरीतका गतिविधि नियन्त्रणमा लिने प्रमुख जिम्मेवारी सशस्त्रको हो । सशस्त्रले आफ्नो दायित्व पूरा गर्नुपर्छ । त्यही हिसाबले सीमा क्षेत्रमा सक्रियता बढाइएको छ,’ डीआईजी न्यौपानेले भने ।
उनका अनुसार सीमा क्षेत्रबाट हुने तस्करी राज्यका लागि गम्भीर चुनौती बन्दै गएको छ । तस्करी रोक्न नियमन, अनुगमन र सीमा निगरानीलाई थप प्रभावकारी बनाउन सशस्त्रलाई उनको निर्देशन छ ।
शंकास्पद गतिविधि देखिए वा तस्करीको कुनै सूचना भएमा तत्काल सुरक्षा निकायलाई खबर गर्न डीआईजी न्यौपानेले सबैमा आग्रह गरेका छन् । खुला सीमाको फाइदा उठाएर हुने अवैध गतिविधि नियन्त्रणमा लिन सबै पक्षसँग समन्वय भइरहेको बताउँदै उनले राजस्व गुम्न नदिन सशस्त्र सचेत रहेको उल्लेख गरे ।

























