विराटनगर । भारतको सर्वोच्च अदालतले कोलकातामा बलात्कारपछि डाक्टरको हत्या भएको घटनामा ‘सो मोटो’ का आधारमा मुद्दा चलाउने भएको छ ।
ड्युटीमा रहेकी डाक्टरको सामूहिक बलात्कारपछि हत्याको घटनाको विरोधमा आन्दोलन भइरहेको छ । सो घटनामा भारतको सर्वोच्च अदालतले स्वतः जानकारी (सो मोटो)का आधारमा मुद्दा चलाउने भएको हो । अदालतले सुनुवाइका लागि २० अगस्तमा पेशी तोकेको छ । भारतका प्रधानन्यायाधीश डी वाई चद्रचुडको नेतृत्वमा तीन न्यायाधीशको बेन्चले २० अगस्टबाट मुद्दाको सुनुवाइ गर्नेछ ।
गत ९ अगस्टमा घटेको घटनाले चिकित्सा क्षेत्रमा परेको गम्भीर असरलाई सम्बोधन गर्न सर्वोच्च अदालतले महत्वपूर्ण कदम चालेको हो । डाक्टरको हत्यापछि कोलकाताको आरजी कार मेडिकल कलेजमा प्रदर्शनकारीले आक्रमण पनि गरेका थिए ।
कोलकातास्थित आरजी कर मेडिकल कलेजमा कार्यरत ३१ वर्षीया प्रशिक्षार्थी चिकित्सककाे गत साता हत्या भएकाे थियाे । पोष्टमार्टम गर्दा उनको सामूहिक बलात्कारपछि हत्या भएको खुलेको भारतीय सञ्चार माध्ययमहरुले जनाएका छन् । घटनामा संलग्न भएको आरोपमा प्रहरीले केहीलाई पक्राउ पनि गरेको छ ।
भारतीय न्यायालयको इतिहासमा बलात्कारपछिको हत्याको घटनामा ‘सो मोटो’का आधारमा मुद्दाको प्रक्रिया सुरु भएको सम्भवतः यो नै पहिलो घटना हो । जिल्ला र उच्च अदालत हुँदै सर्वोच्च अदालतमा मुद्दा पुग्दा समय लाग्ने भएका कारण घटनाको संवेदनशीलता हेरेर सर्वोच्च अदालतले ‘सो मोटो’ लिएर मुद्दाको प्रक्रिया अघि बढाएको हो ।
भारतमा तत्कालीन प्रधानन्यायधीश पीएन भगवतीको नेतृत्वमा सन् १९८० को दशकमा पहिलोपटक सार्वजनिक सरोकारको (पीआइएलं) विषयमा ‘सो मोटो’का आधारमा सरकारको नाममा निर्देशनात्मक आदेश जारी भएको थियो । राज्यले नागरिकलाई दिएको सुविधा लक्षित वर्गसम्म नपुगेको कारण सर्वोच्चले ‘सो मोटो’का आधारमा सरकारलाई आदेश जारी गरेको थियो ।
नेपालमा पनि ‘सो मोटो’को अभ्यास भइरहेको छ । कोरोना महामारीका बेला समय संकुचन हुँदा ऐन बनाएर कार्यान्वयन गर्नुपर्नेमा सरकारले चासो नदिएपछि सर्वोच्च अदालतको पूर्ण इजलाले ‘सो मोटो’का आधारमा कोरोना महामारीको समयमा नागरिकको हकदैया, हदम्यादलगायत नागरिक अधिकारका विषयमा निर्देशनात्मक आदेश जारी गरेको थियो ।
कोशी प्रदेशका तत्कालीन सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले उच्च अदालत विराटनगरका तत्कालीन न्यायाधीशले घुस खाएर आदेश गरेको भनी सार्वजनिक अभिव्यक्ती दिएका थिए । त्यसपछि सर्वोच्च अदालतले स्वयं जानकारीमा लिएर ‘सो मोटो’का आधारमा राजभण्डारीविरुद्ध मुद्दा चलाएको थियो ।
मुद्दा चलेपछि अदालतमा राजभण्डारीले माफी मागेका थिए । सिधा कुरा अनलाइनले ‘डार्क फाइल’ नामक रिपोर्ट प्रकाशित गरेपछि ‘सो मोटो’का आधारमा सर्वोच्चले मुद्दा हेरेको थियो । उक्त मुद्दाको सुनुवाइ जारी छ ।