
सर्लाही । सर्लाहीमा १ युवकले बिहीबार बिहानका राति आफ्नै पत्नी (श्रीमती) र बुवामाथि गोली प्रहार गरेका छन् । गोली प्रहारबाट पत्नीको मृत्यु भएको छ भने बुवा घाइते भएका छन् ।
हरिपूर्वा नगरपालिका–५ का २७ वर्षीय धीरेन्द्र यादवले पत्नी २३ वर्षीया चित्ररेखा यादव र बुवा ५४ वर्षीय दिनेश यादवलाई गोली प्रहार गरेको सर्लाही प्रहरीका डीएसपी दीपक श्रेष्ठले बताए । उनका अनुसार पति (श्रीमान)को गोली प्रहारबाट चित्ररेखाको घटनास्थलमै मृत्यु भएको छ ।
सुतिरहेका बेला बिहानका राति १ः३० बजेतिर गोली प्रहार गरेर धीरेन्द्रले पत्नीको हत्या गरेको जानकारी डीएसपी श्रेष्ठले दिए । उनका अनुसार चित्ररेखाको दाहिने कन्चटमा गोली लागेको छ ।
धीरेन्द्रको गोली प्रहारबाट बुवा दिनेश घाइते भएका छन् । बायाँ हातमा गोली लागेका दिनेशको उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । पत्नी र बाबुलाई गोली हानेर धीरेन्द्र फरार भएको डीएसपी श्रेष्ठले बताए ।
उनका अनुसार पारिवारिक विवादका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पत्नीलाई गोली प्रहार गरेको थाहा पाएपछि दौडिएर पुगेका बुवामाथि पनि धीरेन्द्रले गोली हानेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार धीरेन्द्र वैदेशिक रोजगारीबाट १ महिनाअघि मात्रै घर आएका हुन् । रातको समयमा केही व्यक्तिहरुलाई लिएर मोटरसाइकलमा आएका धीरेन्द्र गोली प्रहार गरिसकेपछि फरार भएका छन् ।
डीएसपी श्रेष्ठले घटनामा संलग्न धीरेन्द्र र उनीसँगै आएकाहरुको खोजी भइरहेको जानकारी दिए । ‘विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरेर फरार रहेकाको खोजी तीव्र पारिएको छ,’ उनले भने । कुन हतियार प्रयोग गरेर गोली हानियोभन्ने खुल्न बाँकी छ ।

























