
विराटनगर । आज (बुधबार) मुलुकभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार मनसुनी वायुको प्रभावका कारण कोशीसहित केही प्रदेशमा वर्षाको सम्भवना रहेको छ । भारतको उत्तर–पूर्व आसम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेको हो ।
जसको प्रभावका कारण कोशी प्रदेशका केही स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ । कोशीसहित बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहने जनाइएको छ ।
कोशीका केही स्थानमा आकाश धुम्म छ । दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली हुने र मौसम सफा रहने जनाइएको छ ।
कोशी प्रदेशका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी र बागमती प्रदेशका १–२ स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार राति कोशी प्रदेशका केही तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशीका केही स्थानमा भारी वर्षाको सम्भवनासमेत रहेको जनाइएको छ ।
वर्षाका कारण कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेको पूर्वानुमान छ । वर्षाका कारण जोखिम बढेको र त्यसबाट हुनसक्ने क्षतिबाट बच्न उच्च सतर्कना अपनाउन महाशाखाले अनुरोध छ ।

























