
विराटनगर । उदयपुरमा कोशी प्रदेशको राज्यमन्त्री सृजना राई सवार गाडी रोकेर लुटपाटको प्रयास भएको छ । उदयपुृरको बेलका नगरपालिका– ८ मंगलबार राति करिब १० बजे लुटपाटको प्रयास भएको हो ।
बाढी प्रभावित क्षेत्रको अनुगमनपछि विराटनगर फर्कनेक्रममा राति करिब १० बजे बेलकाको सिरवानी भन्ने स्थानमा ६ जनाको समूहले लुटपाटको प्रयास गरेको प्रहरीले बताएको छ ।
लुटपाटको प्रयासमा संलग्न भएको अरोपमा प्रहरीले आकाश राई, विशाल राई, थानवीर राई, लोहनसिंह राई, सुदीप राई र सुरेश राईलाई पक्राउ गरेको छ । पक्राउ परेका सबै स्थानीय हुन् । प्रहरीले पक्राउ परेकाहरुको साथबाट मंगलबार राति प्रयोग भएको एउटा टर्चलाइट र हँसिया पनि बरामद गरेको छ ।
बाटो ढुकेर बसेको समूहले मध्यरातमा राज्यमन्त्री चढेको प्रदेश १–०४–००१ झ ००३२ नम्बरको गाडी रोकेर लुटपाट गर्न खोजका थिए । तर चालकले गाडी नरोकेपछि सो समूहले गाडीमा ढुंगा प्रहार गरेको कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी चन्द्रकुबेर खापुङले बताए ।
उनका अनुसार राति लुटपाटकै उदेश्यले राज्यमन्त्रीको गाडीमाथि आक्रमण भएको देखिन्छ । ‘लुटपाटकै उदेश्यले आक्रमण भएको देखिन्छ, उनले भने,‘ ६ जना पक्राउ परेका छन्, थप अनुसन्धान हुँदैछ ।’
प्रहरी स्रोतका अनुसार पक्राउ परेकाहरुले गाँजा बोकेको गाडी भन्दै रोक्ने प्रयास गरेका थिए, पछि राज्यमन्त्रीको गाडी भन्ने थाहा पाएपछि उनी त्यहाँबाट भागेका थिए । रातको समयमा पहिले पनि सो समूहले बाटो ढुकेर गाडी लुटपाट गर्ने गरेको देखिएको प्रहरी स्रोतले बताएको छ ।

























