
काठमाडौं । नेपाल र बंगलादेशबीच पहिलो पटक विद्युत व्यापार सम्झौतामा हस्ताक्षर भएको छ ।
भारतको बाटो हुँदै बंगलादेश विद्युत निर्यातका लागि नेपालसँगै भारत र बंगलादेशबीच सम्झौता भएको हो । सम्झौता अनुसार अब नेपालबाट ४० मेगावाट विद्युत् भारतको बाटो हुँदै बंगलादेश निर्यात हुनेछ । १० वर्षभित्र ५ हजार मेगावाट विद्युत निर्यातको लक्ष्य छ ।
नेपालले ३ वर्षदेखि नै भारतमा विद्युत निर्यात गर्दै आएको छ । नेपालले विद्युत् बिक्री गर्ने, भारतको प्रसारण लाइन हुँदै लैजानुपर्ने र बंगलादेशले त्यो खरिद गर्ने भएकाले नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभपलमेन्ट बोर्ड (बीपीडीबी) तथा भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच त्रिपक्षीय ऊर्जा बिक्री सम्झौता (पीएसए) भएको हो ।
सम्झौतामा नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङ, बीपीडीबीका अध्यक्ष मो. रेजुल करिम र एनभीभएनकी सीईओ रेनु नारंगले हस्ताक्षर गरेका छन् । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का र बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसन, नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवकाे उपस्थितिमा सम्झौता भएको हो ।
सम्झौतापछि ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालको विकासमा यो सम्झौताले महत्त्वपूर्ण योगदान गर्ने बताए । मन्त्री खड्काले नेपालले इतिहासमै पहिलोपटक जलविद्युत् ऊर्जा तेस्रो मुलुकमा निर्यात गर्ने भएकाले कार्यक्रम नेपालको ऊर्जा क्षेत्रमा ऐतिहासिक भएको बताए ।
बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले यो सम्झौता दक्षिण एसियाली विद्युत् सहकार्यमा कोशेढुंगा भएको बताइन् ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दक्षिण एसियाली उपक्षेत्रीय विद्युत् साझेदारीका लागि भारत प्रतिबद्ध भएको बताए । नेपालले भरतमा विद्युत् निर्यात गर्न थालेदेखि अहिलेसम्म निकै ठूलो उपलब्धि हासिल गरेको उनले बताए ।

























