विराटनगरलाई थोरै भए नगरप्रहरी

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ आश्विन १९, शनिबार १९:२९

विराटनगर । विराटनगरलाई २०७४ साल जेठ १७ गते महानगरपालिका घोषणा गरियो । त्यसयता २ पटक स्थानीय तहको निर्वाचन भइसकेको छ ।

अहिले विराटनगरमा नागेश कोइराला मेयर (प्रमुख) र शिल्पा निराला कार्की उपमेयर (उपप्रमुख) छन् । औद्योगिक, व्यापारिक तथा प्रशासनिक केन्द्रको रूपमा परिचित विराटनगरको कूल क्षेत्रफल क्षेत्रफल ७६.९९ वर्ग किलोमिटर छ ।

४७ हजार ७ सय ९८ घरधुरीको बसोबास रहेको विराटनगरको जनसंख्या २ लाख १४ हजार ६ सय ६३ छ । कोशी प्रदेशको एउटा मात्रै महानगर विराटनगर पूर्वमा कटहरी र जहदा गाउँपालिका, पश्चिममा सुनसरी जिल्ला, उत्तरमा बूढीगंगा र ग्रामथान गाउँपालिका तथा दक्षिणमा भारतको जोगवनीसँग सीमा जोडिएको छ ।

मोरङको कूल जनसंख्याको १९.७७ प्रतिशत मानिसको बसोबास रहेको विराटनगरलाई भौगोलिक रूपमा १९ वटा वडामा विभाजन गरिएको छ । जनघनत्व अत्यधिक रहेको र कोशी प्रदेशकै अग्रणी मानिने विराटनगर महानगरमा नगरप्रहरीको संख्या भने अत्यन्तै थोरै छ ।

विराटनगरमा मेयर भीम पराजुली हुँदा २०७६ सालमा पहिलोपटक नगर प्रहरी भर्ना गरिएको थियो । त्यसयता नगर प्रहरी भर्ना गरिएको छैन । यद्यपि, भर्नाको प्रक्रिया अघि बढाउन लागिएको महानगर स्रोतले जनाएको छ ।

विराटनगर महानगरपालिकासँग इन्स्पेक्टरको नेतृत्वमा नगरप्रहरी छन् । ५ महिलासहित नगरप्रहरीमा १ जना इन्स्पेक्टर, १ सइ, १ असइ, ४ हवल्दार र १३ जना जवान गरेर २० जना कार्यरत रहेका छन् । विराटनगरका लागि अहिलेको नगरप्रहरीको संख्या अत्यन्तै थोरै हो ।

स्थानीय सरकार संचालन ऐन, २०७४ ले नगरपालिका तथा गाउँपालिकालाई नगर प्रहरीको गठन, संचालन, व्यवस्थापन, नियमन तथा नगरप्रहरी सम्बन्धी नीति, कानुन र मापदण्डको निर्माण तथा कार्यान्वयन गर्ने अधिकार दिएको छ । ऐनको दफा ११ को उपदफा २ को (क) को १ मा उक्त व्यवस्था छ । उपदफा २ को (क) को २ मा नगरप्रहरीको काम, कर्तव्य र अधिकार सम्बन्धी स्पष्ट व्यवस्था छ ।

महानगरको नीति, कानुन, मापदण्ड तथा निर्णय कार्यान्वयन, सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण, स्थानीयस्तरमा हुने सभा समारोह, परम्परा तथा जीवा चाडपर्वको सुरक्षा व्यवस्थापन, स्थानीय बजार तथा पार्किङस्थलको रेखदेख र व्यवस्थापन गर्ने काम नगरप्रहरीको हो । त्यस्तै, सरसफाइसम्बन्धी मापदण्डको कार्यान्वयन, न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयको कार्यान्वयन, सार्वजनिक ऐलानी र पर्ती जग्गा सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा गर्ने जिम्मा नगरप्रहरीकै हुन्छ ।

त्योबाहेक विपद् व्यवस्थापन सम्बन्धी खोजी, उद्धार, राहत तथा पुनःस्थापना, अनधिकृत विज्ञापन तथा होडिङ बोर्ड नियन्त्रण, छाडा पशु चौपाया नियन्त्रण, अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्ति अतिक्रमण रोकथाम तथा नियन्त्रणसहित कार्यपालिकाले तोकेका अन्य काम नगरप्रहरीले गर्नुपर्छ ।

तर, विराटनगरलाई व्यवस्थित बनाउन आवश्यक पर्ने नगरप्रहरीको व्यवस्थापनमा महानगरले बेवास्ता गरिरहेको छ । ठूलो क्षेत्रफलमा फैलिएको र धेरै जनसंख्या रहेको महानगर व्यवस्थित हुन नसकिरहेको पूर्वनिजामती कर्मचारी जगदीश खतिवडाले बताए ।

‘सार्वजनिक सम्पत्तिको सुरक्षामा महानगरको बेवास्ता छ । हाटबजार तथा पार्किङस्थल अव्यवस्थित छन्,’ उनले भने, ‘महानगरले सरसफाइमा त झन् ध्यान दिएकै छैन । विराटनगरका सडकमा जताततै भेटिने छाडा चौपायाले दुर्घटनाको जोखिम उत्तिकै बढेको छ ।’ खतिवडाले कोशी प्रदेशको राजधानी रहेको विराटनगर व्यवस्थित बनाउनेतर्फ महानगरले ध्यान दिन नसकेको बताए ।

महानगरका १ कर्मचारीका अनुसार मेयर र उपमेयर नगरप्रहरी नभइकन आशा गरे अनुरुपको काम हुन नसकिरहेको निष्कर्षमा पुगेका छन् । ‘नगरप्रहरी थप गर्नुपर्ने अति नै आवश्यक देखिएको छ । अहिले नगर प्रहरी ऐन जारी भइसकेको छ । यसअघि ऐन थिएन । कार्यविधि बनाएर नगरप्रहरी भर्ना गरिएको थियो,’ उनले भने ।

यस विषयमा बुझ्न खोज्दा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र महानगरका प्रवक्ता सन्तोष न्यौपाने सम्पर्कमै आउन चाहेनन् । पटक–पटक गरेको फोन उठाएनन् । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको फोन ‘अफ’ थियो ।

त्यसै पनि महानगरमा काम गर्न नसकेको तथा विकास निर्माणमा भन्दा पनि प्रचारबाजीमा लागेर आत्मरतिमा मात्रै रमाएको भनेर मेयर कोइराला र उपमेयर कार्कीले चौतर्फी आलोचना भइरहेको छ । चुनावका बेला गरेको प्रतिबद्धता पूरा गर्न नसकेको आरोप उनीहरुमाथि लागिरहेको छ ।

महानगरकी सूचना अधिकारी अनिता न्यौपाने (कोइराला)ले विराटनगरमा नगरप्रहरी कम नै रहेको बताइन् । ‘नगरप्रहरी राख्ने त कुरा चलिरहेको छ । तर, नयाँ भर्ना खुलाइएको छैन,’ उनले भनिन्, ‘त्यसको तयारी भइरहेको होला । नगरप्रहरी कम हुँदा महानगरको सुरक्षामै समस्या देखिएको छ ।’ न्यौपानेले नगरप्रहरी थोरै हुँदा पार्किङदेखि लिएर विपद् व्यवस्थापनका काममा समस्या भइरहेको उल्लेख गरिन् ।

clockप्रकाशित मिति:  २०८१ आश्विन १९, शनिबार १९:२९
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.