
विराटनगर । दुग्ध विकास संस्थान विराटनगर दुग्ध वितरण आयाेजनाले किसानबाट खरिद गरेकाे दूधकाे आधा मात्रै भुक्तानी गरेको छ । बजारको बिक्री र किसानको भुक्तानीमा सन्तुलन राख्न नसकेका कारण समस्यामा परेको डीडीसीले आधा मात्रै भुक्तानी गरेको हो ।
डीडीसीले मङ्सिरदेखि भुक्तानी रोकेको थियो । केन्द्रबाट १६ करोड ८ लाख रुपैयाँ निकासा भएपछि केही दिनअघि चैत मसान्तसम्मको भुक्तानी गरेको विराटनगर दुग्ध वितरण आयाेजनाका निमित्त प्रमुख हिरबहादुर थापामगरले बताए । वैशाखयता भुक्तानी गर्न बाँकी रहेको उनले बताए ।
उनका अनुसार असारसम्मको मात्रै करिब २६ करोड भुक्तानी बाँकी थियो । केन्द्रबाट चैत मसान्तसम्मको लागि भन्दै १६ करोड ८ लाख रुपैयाँ मात्रै निकासा भएको थियो । निकासा भएको सबै रकम किसानलाई भुक्तानी गरेको उनकाे दाबी छ ।
डीडीसी को विराटनगरले बैशाखदेखि भदौ मसान्तसम्म १३ करोड ८९ लाख भुक्तानी गर्न बाँकी रहेकाे उनले बताए । असोज महिनाको भने हिसाब भइसकेको छैन । बाँकी रकम दसैंअघि भुक्तानी गर्ने सम्भावना छैन ।
डीडीसीले किसानबाट खरिद गरेको दूध बजारमा पठाउँछ । पाउडर दूध पनि उत्पादन गर्छ ।
पछिल्लो समयमा डीडीसीले दूध सङ्कलन पनि कटौती गरेको छ ।
धूलो दूध स्टक धेरै भएपछि सङ्कलन कटौती गरेको हो । उनका अनुसार विराटनगर दुग्ध वितरण आयाेजनामा मात्रै ८२ हजार १२० किलो पाउडर दूध स्टकमा छ । १ वर्षयता स्टकमा रहेको धुलो दूध डीडीसीले बिक्री गरिरहेको छ । ‘स्टक धेरै भएकाले सङ्कलन पनि कम गरेको हो,’ उनले भने,‘ हामीसँग मखन पनि एक लाख ९६ हजार किलो स्टकमा छ ।’
धूलो दूधको आयु १८ महिनाको मात्रै हुन्छ । एक वर्षयताको धूलो दूध स्टक रहेका कारण किसानको दूध सङ्कलन कटौती गरेको डीडीसीले धूलो दूध र सङ्कलन भएको दूधलाई मिसाएर बजार पठाइरहेको छ ।
विराटनगर, इटहरी धरानलगायत बजारमा डीडीसी ले दैनिक २ हजार २२ सय देखि दुई हजार ५ सय लिटरसम्म दूध बिक्री गर्छ । दैनिक करिब ६ सय लिटर दही बिक्री गर्ने डिडिसीले दैनिक सरदर ६० किलो हाराहारी पनिर बिक्री गर्छ ।
गत असारसम्म आयाेजनाले दैनिक २२ किलोलिटरसम्म दूध सङ्कलन गरेको थियो साउनदेखि भने दैनिक १०–१२ हजार लिटर दूध मात्रै सङ्कलन गरिरहेको थापामगरले जानकारी दिए ।

























