
काठमाडौं । मुलुकका केही प्रदेशका सीमित स्थानमा आज (सोमबार) वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका १–२ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले नेपालबाट यस वर्षको मनसुन बाहिरिने क्रममा छ ।
मनसुन बाहिरिने क्रममा रहेकाले ठूलो वर्षा हुने पूर्वानुमान गरिएको छैन । सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरिन थालेको छ । मनसुनी वायु कमजोर हुँदै गएकाले नेपालबाट केही दिनभित्रमा मनसुन बाहिरिसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।

























