
विराटगगर । दसैं सुरु भएपछि विराटनगर महानगरपालिकाले मासु पसलको अनुगमन सुरु गरेको छ । वर्षभरी अनुगमन र नियमनमा चासो नदिएको महानगरपालिकाले दसैं सुरु भएपछि सोमबारबाट मासु पसल अनुगमन सुरु गरेको हो ।
मासुपसलले सरसफाइनमा ध्यान नदिएको गुनासो यसअघि पटक पटक आएपनि महानगरपालिकाले चासो दिएको थिएन् ।
सोमबार महानगरपालिकाका तर्फबाट राजस्व महाशाखा प्रमुख सरोज गौतम, आर्थिक विकास महाशाखाका संयोजक कृष्ण पोखरेल, कृषि तथा पशुपंक्षी शाखा प्रमुख शुभनारायण यादव, हिरालाल यादव, गणेश पौडेल, सरसफाई शाखा प्रमुख पुनम दाहाल, किरण न्यौपाने, नगर प्रहरीका प्रमुख राजन पौडेल, पशु सेवा विज्ञ केन्द्रका बडेलाल यादव, नापतौल कार्यालयका संजय यादवलगायतको टोलीले बजार अनुगमन गरेको हो ।
अनुगमनका क्रममा अधिकांश पसलले सरसफाईमा ध्यान दिएको भेटिएन्, कार्ड नलिएको, मूल्यसूची नराखेको र ढक–तराजुमा पनि कैफियत भेटिएको थियो ।
अनुगमन टोलीका सदस्य हिरालाल यादवका अनुसार निर्देशिका विपरीत सञ्चालित माछा–मासु पसललाई सात दिनभित्र सुधार गर्न निर्देशन दिइएको छ । सात दिन भित्र सुधार नभए कारवाही गर्ने उनले बताए ।
विराटनगर क्षेत्रभित्र करिब ३ सय मासु पसल सञ्चालनमा रहेका छन् । त्यसमध्ये करिब ५० प्रतिशत मात्रै महानगरमा दर्ता छन् ।

























