
काठमाडौं । विश्वकै सातौं अग्लो धवलागिरि हिमाल आरोहरणमा गएका ५ जना रसियन पर्वतारोहीको मृत्यु भएको छ । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा रहेको हिमाल ८ हजार १ सय ६७ मिटर अग्लो छ ।
उक्त हिमाल आरोहणका लागि गएका ५ जना विदेशी आरोहीहरु धवलागिरि ‘हाइक्याम्प आधार शिविर’बाट २ दिनदेखि हराइरहेका थिए । उनीहरु ७ हजार १ सय मिटरको उचाइमा मंगलबार मृत फेला परेको प्रहरीले जनाएको छ ।
म्याग्दी प्रहरीका डीएसपी भरत श्रेष्ठका अनुसार रसियाका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव भेटिएको छ । ‘हाइक्याप’मा बास बसेर त्यहाँदेखि माथि जाने क्रममा आइतबार दिउँसो ११ बजेदेखि उनीहरु सम्पर्कविहीन भएका थिए ।
हेली एभरेष्टको हेलिकोप्टरमार्फत खोजी गर्ने क्रममा पर्वतारोहीहरूको शव फेला परेको हो । हेलिकोप्टर प्रयोग गरेर शव ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । मृत फेला परेका रसियन नागरिकहरु आई एम ट्रेकिङ एन्ड एक्सपीडीसनमार्फत धवलागिरि आरोहणका लागि गएको प्रहरीको भनाइ छ ।
डीएसपी श्रेष्ठका अनुसार आरोहीहरु ७ हजार ६ सय मिटर उचाइमा पुगेपछि दुर्घटनामा परेको प्रारम्भिक अनुमान छ । आरोहण दलका १ जना भालेरी शामालोलाई भने ‘फस्ट क्याम्प’बाट उद्धार गरेर काठमाडौं लगिएको छ। चौथो क्याम्पमा पुगेपछि माथि जान नसकेर उनी तल झरेका थिए ।
उनलाई उद्धार गरिएको भएपनि समूहमा रहेका ५ जना भने मृत फेला परेका छन् । प्रहरीका अनुसार घटनाका विषयमा थप बुझ्ने काम भइरहेको छ ।

























