विराटनगर । माथि २ वटा तस्बिर (फोटा) छन् । पहिलो महेश्वर सुब्बाले सुनसरीको इटहरी चोकमा बनाएको ४ तले घरको हो । दोस्रो सोही घर भएको स्थानमा बनेको नयाँ सडक र संरचनाको हो ।
मुख्य चोकको चौबाटोका यी २ तस्बिरले इटहरीको विकास क्रमलाई दर्शाउँछ । तस्बिर विक्रम संवत् २०३२ साल र २०८१ सालमा लिइएको हो । एउटा तस्बिरबाट ४९ वर्षअघिको र अर्कोबाट हालसालैको इटहरीको अवस्थाका बारेमा प्रष्ट हुन्छ ।
करिब ५ दशकअघि इटहरी एउटा सानो गाउँजस्तै थियो । महेन्द्र राजमार्ग बनेपछि बस्ती विस्तार हुन थाल्यो । अहिले पूर्वी नेपालको ठूला सहरमध्येमा इटहरीको नामसमेत आउँछ । सुनसरीको इटहरी सहर कोशी करिडोरअन्तर्गतका पहाडी जिल्लाको बसाइँसराइको केन्द्र हो । जहाँ झापा, मोरङ र सुनसरीको गाउँबाट पनि बसाइँ सरेर पुग्छन् ।
बसाइँसराइका कारण इटहरीको बजार क्षेत्रमा घडेरी पाउन मुस्किल छ । बढ्दो बसाइँसराइले गर्दा इटहरीको ग्रामीण बस्तीमा पनि तीव्र सहरीकरण भइरहेको साहित्कार एवं अग्रज पत्रकार कृष्णविनोद लम्साल बताउँछन् । भोजपुरको दिंलाबाट सुनसरीको धरान हुँदै इटहरी झरेका उनी महेन्द्र राजमार्ग र कोशी राजमार्गसँग जोडिएको सानो गाउँ इटहरीको विकास क्रमका साक्षी हुन् ।
लम्साल इटहरी बस्न थालेको ४२ वर्ष भयो । उनी इटहरी आउँदा थारु समुदायका स–साना झुप्रा घर थिए । अहिलेसम्म आइपुग्दा ठूला संरचनाले इटहरी ढाकेको नजिकबाट देखेका छन् ।
‘हामी आउँदा यहाँ बस्ती पातलो थियो । विस्तारै बसाइँसराइको क्रम बढ्यो,’ उनी भन्छन्,‘ अहिले इटहरी बसाइँ सरेर आउने सहरको पहिलो नम्बरमा छ ।’ लम्सालका अनुसार इटहरी बसाइँसराइको केन्द्र बन्नुको मुख्य कारण सडक सञ्जाल र सुरक्षा हो ।
२ वटा सुरक्षा निकायको प्रदेशस्तरीय कार्यालय रहेको इटहरी माओवादी द्वन्द्वकालमा निक्कै सुरक्षित मानिन्थ्यो ।
महेन्द्र राजमार्ग र कोशी राजमार्गसँग जोडिएको इटहरीबाट सबै तिरको यात्रा सहज छ । विराटनगर र भारतीय बजार जोगवनी नजिकै पर्छ । पूर्वतर्फ काँकडभिट्टा नाका हुँदै भारतीय भूमिसम्म, पश्चिमतर्फ संघीय राजधानी काठमाडौंलगायत पश्चिम नेपाल, उत्तरतर्फ धरान हुँदै धनकुटासमेतका पहाडी जिल्ला र दक्षिणतर्फ विराटनगर हुँदै भारतीय भूमिसम्मको यात्रा इटहरीबाट गर्न सकिन्छ । अर्थात्, इटहरीबाट पूर्व, पश्चिम, उत्तर र दक्षिण चारै दिशाको यात्रा तय गर्न सहज छ ।
इटहरीको उत्तरतर्फ नेपाली सेनाको पूर्वी पृतना र पश्चिमतर्फ सशस्त्र प्रहरी बल नेपालको, नम्बर १ वराह बाहिनी मुख्यालय छ । २ वटा सुरक्षा निकायको प्रदेशस्तरीय कार्यालय रहेको इटहरी माओवादी द्वन्द्वकालमा निक्कै सुरक्षित मानिन्थ्यो । अन्य पहाडी जिल्ला र गाउँबाट सुरक्षा खोज्दै धेरै सर्वसाधारण बसाइँसराइ गरेर त्यसबेला इटहरीमा आए ।
बसाइँ सरेर आउने क्रम तीव्र भएसँगै सानो गाउँ इटहरी ठूलो सहरमा परिणत हुन पुग्यो । ‘द्वन्द्वकालमा बाहिरबाट बसाइँसराइ सरेर आउनेक्रम ह्वात्तै बढ्यो । पहिले पनि बसाइँ सरेर आउनेक्रम थियो । मधेस आन्दोलनले पनि असर नगरेको इटहरीमा बसाइँ सरेर आउनेको संख्या बढ्यो,’ लम्साल भन्छन् ।
जनघनन्त बढेसँगै इटहरीमा व्यावसायिक मल र शैक्षिक संस्था खुल्ने क्रम पनि बढ्दो छ । छोटो समयमै ठूलो सहरमा परिणत भएको इटहरी पछिल्लो समय ‘शैक्षिक हब’को रुपमा विकास भइरहेको लम्सालको बुझाइ छ ।
विकसित इटहरीको जस पाउने व्यक्ति हुन्, नरसिंह थारु । त्यतिबेला थारु समुदायको सर्वोच्च प्रशासनिक नेतालाई मौजावाल भनिन्थ्यो ।
तेह्रथुम सोल्माका दयाराम खनाल पनि इटहरीमा बस्छन् । केही वर्षअघि उनी परिवारसहित बसाइँ सरेर आएका हुन् । शिक्षा र स्वास्थ्यका लागि सोल्माबाट उनीसहित अन्य धेरै गाउँले इटहरी आए । सुविधाको खोजीमा अधिकांश सोल्माबासी गाउँ छाडेर सहर केन्द्रीत भएका छन् । दयाराम भने बेलाबेला पहाड घर पुग्ने गरेको बताउँछन् ।
विकसित इटहरीको जस पाउने व्यक्ति हुन्, नरसिंह थारु । त्यतिबेला थारु समुदायको सर्वोच्च प्रशासनिक नेतालाई मौजावाल भनिन्थ्यो । ‘इटहरी, दुहबी, खनार, पकली, झोक्राहासमेतको मौजावाल नरसिंह थारु थिए,’ इतिहासमा इटहरी नामक पुस्तकमा पत्रकार हिमाल दाहालले लेखेका छन् ।
तत्कालीन शासकबाट सुब्बा उपाधि पाएका थारुले इटहरीमा प्रशासन चलाउँथे । न्याय निसाफ पनि हेर्थे । अपराध गर्नेलाई तुरुङमा राख्थे । ‘यो तुरुङ हो’लाई थारु भाषामा ‘इटा हरी छि’ भनिन्छ । त्यसैबाट इटहरीको नाम रहेको समेत सुनिन्छ । तर, नामका विषयमा भने भिन्न भिन्न दाबी छन् ।
औलो उन्मूलन अघिसम्म इटहरीको मुख्य बासिन्दा थारू समुदाय हुन् । औलो उन्मूलन र २०२१ सालमा भएको नापीपछि भने जमिनबाट उनीहरुको स्वामित्व गुम्दै गयो । मालपोत तिर्न नसकेपछि उनीहरुले जमिन अरुलाई नै दिए ।
थारु समुदायपछि इटहरी विकास क्रमकर्ताको जस महेश्वर सुब्बाले पाउँछन् । ताप्लेजुङबाट कोशी किनार हुँदै इटहरी आएका उनले इटहरीमा जंगल फाँडेर बस्ती विस्तार गर्न मद्दत गरेको बताइन्छ ।
महेन्द्र राजमार्ग निर्माण भएपछि जग्गा खरिद–बिक्री सुरु भयो । अहिलेको बजार क्षेत्रको जग्गा थारु समुदायले नै बिक्री गरेको इतिहासमा इटहरी पुस्तकका सम्पादक दाहाल बताउँछन् ।
थारु समुदायपछि इटहरी विकास क्रमकर्ताको जस महेश्वर सुब्बाले पाउँछन् । ताप्लेजुङबाट कोशी किनार हुँदै इटहरी आएका उनले इटहरीमा जंगल फाँडेर बस्ती विस्तार गर्न मद्दत गरेको बताइन्छ । पहाडबाट आफन्त र गाउँलेलाई बोलाएर उनले मधेसमा राखे । इटहरी चोकलाई चिनाउन ठूलो ४ तले घर नै बनाए ।
पहिलेको इटहरी चोक ।
महेन्द्र राजमार्ग विस्तार भएपछि भत्किएको उनको घरको फोटोले इटहरीको इतिहासका बारेमा बोल्छ । २०२० सालमा उनले इटहरी चोकमा काठको ४ तले घर बनाएको लेखक एवं पत्रकार दाहाल बताउँछन् । तर, राजमार्ग विस्तार गर्दा उनको घर एकातर्फ र शौचालय अर्काेतर्फ पर्याे । त्यसपछि उनले घर भत्काएका थिए । त्यसबेला सुब्बाले बनाएको घर थारुहरुको भन्दा भिन्न थियो । काठको घर आर्कषक र ठूलो थियो ।
राजमार्ग बनेपछि आएकाहरुले जग्गा खरिद गरेर घडेरीको रुपमा बिक्री गर्दै बस्ती विकास गरेका थिए । जसकारण कोशी करिडोरसँग जोडिएका पहाडी जिल्लाबाट बसाइँसराइ गर्नेहरुको केन्द्र इटहरी बनेको हो ।
पूर्व–पश्चिम राजमार्ग बनेपछि इटहरी चौबाटो केन्द्र बन्यो । त्यसअघि पनि इटहरीबाट विराटनगर हुँदै जोगवनी जोड्ने सडक थियो । ‘पूर्व–पश्चिम राजमार्ग निर्माणअघि नै इटहरी विराटनगर सडक थियो । त्यो सडकमा सवारी पनि चल्थे,’ सम्पादक दाहाल भन्छन्, ‘पूर्व–पश्चिम र उत्तर–दक्षिण राजमार्ग बनेपछि इटहरीको विकासले झन् गति लियो ।’
उनका अनुसार राजमार्ग बनेपछि आएकाहरुले जग्गा खरिद गरेर घडेरीको रुपमा बिक्री गर्दै बस्ती विकास गरेका थिए । जसकारण कोशी करिडोरसँग जोडिएका पहाडी जिल्लाबाट बसाइँसराइ गर्नेहरुको केन्द्र इटहरी बनेको हो ।
इटहरीमा संखुवासभा, भोजपुर, तेह्रथुम र खोटाङ र धनुकटालगायतका पहाडी जिल्लाबाट बसाइँसराइ गरेर आएकाहरु धेरै छन् । इटहरीको एउटा चोकको नाम नै भोजपुरे टोल छ । त्यहाँ अधिकांश भोजपुरबाट बसाइँ सरेर आएकाहरु छन् ।
२०४६ सालको जनआन्दोलनपछि फस्टाएको इटहरीको विकास कोरोना महामारीपछि भने अलिक सुस्त देखिएको छ । तर, इटहरी छाडेर जानेभन्दा पनि इटहरीमा आउनेको संख्या बढ्दो छ । ‘यहाँबाट जाने ठूलो सहर काठमाडौंमा हो । अन्य सहरमा जानेको संख्या न्यून छ,’ दाहाल भन्छन् ।
इटहरी उपमहानगरपालिको तथ्यांकअनुसार इटहरीमा हरेक वर्ष २ हजार हाराहारी घर थपिने गरेका छन् । राष्ट्रिय जनगणना २०७८ ले इटहरीमा ५० हजार ३ सय ५० घरधुरी रहेको देखाएको छ । २०६८ सालमा भने ३३ हजार ७ सय घरधुरी देखिएको छ । जनगणनाले इटहरीको जनघनत्व बढ्दो क्रममा रहेको देखाएको छ । २०७८ को जनगणनामा इटहरीको जनसंख्या १ लाख ९७ हजार छ ।
इटहरीको बजार क्षेत्र भरिएको छ । उत्तरी क्षेत्र ४ कोसे जंगल, पूर्व र दक्षिणतर्फ मोरङ पर्छ । इटहरीकै कारण मोरङतर्फको बलिया, दुलारी र गछियामा पनि सहरीकरण तीव्र छ ।
तत्कालीन इटहरी गाविस २०५३ माघ ११ गते इटहरी नगरपालिका बनेको थियो । २०७१ पुस २८ गते उपमहानगर बन्यो । नगरबाट उपमहानगर हुनुको मुख्य कारण इटहरीको जनसंख्या वृद्धि नै हो । विकास नै हो ।
अहिलेको इटहरी चोक ।
इटहरीको बजार क्षेत्र भरिएको छ । उत्तरी क्षेत्र ४ कोसे जंगल, पूर्व र दक्षिणतर्फ मोरङ पर्छ । इटहरीकै कारण मोरङतर्फको बलिया, दुलारी र गछियामा पनि सहरीकरण तीव्र छ । पछिल्लो समय इटहरीको बस्ती विस्तार भने पश्चिम–दक्षिण क्षेत्रमा धेरै भइरहेको छ ।
कोशी प्रदेशको बसाइँसराइको केन्द्र इटहरी देखिएको मानवशास्त्री डिल्ली प्रसाईं बताउँछन् । इटहरीपछि भने बिर्तामोडको तीव्र विकास भइरहेको छ । बिर्तामोडमा जनघनत्व बढ्दो छ । विकास तीव्र छ ।
सहज यातायात, शिक्षा र स्वास्थ्यलगायतको सुविधाको खोजीमा पहाडबाट तराईतिर बसाइँसराइ बढ्दो छ ।
‘कोशी करिडोरसँग जोडिएको पहाडी जिल्लाबाट बसाइँ सरेर इटहरी झर्छन् । इटहरीमा मानव बसोबास अत्याधिक चाँडो विकास भइरहेको छ । पहाडबाट झर्नेहरु आफ्नो क्षमता अनुसार बजार र बजार छेउमा बसोबास गर्छन्,’ प्रसाईं भन्छन् । सहज यातायात, शिक्षा र स्वास्थ्यलगायतको सुविधाको खोजीमा पहाडबाट तराईतिर बसाइँसराइ बढ्दो छ ।
‘पहाडबाट अध्ययनका लागि झरेको व्यक्ति यतै ‘सेटल’ हुन्छ या त रोजगारीका लागि विदेश जान्छ । फर्किएर पहाड नै जाने न्यून छन्,’ प्रसाईंले भने, ‘राज्यले पहाडसँग सुविधा जोड्ने प्रयास गरिरहेको छ । तर, त्यसको उपभोग गर्ने जनशक्ति भने पलायन हुने क्रम बढ्दो छ ।’