
काठमाडौं । सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेकाे हाे ।
उनलाई आजै पक्राउ गर्ने प्रहरीको तयारी छ ।
लामिछानेकाे पक्राउअघि मुलुकभर प्रहरीलाई ‘हाइ अलर्ट’मा राखिएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार सर्कुलर जारी गर्दै देशभरका प्रहरी कार्यालयहरुलाई ‘हाइ अलर्ट’मा रहन निर्देशन दिएको उच्च स्रोतले बतायो ।
सूर्यदर्शनको रकम अपचलन गरेको आरोपमा असोज ६ गते पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेका थिए । त्यसबेला नै प्रहरीले लामिछानेलाई पनि पक्राउ गर्ने प्रयास गरेको थियो । तर पछि ब्याक भएको थियो ।
पूर्व डीआईजी जोशी, पूर्व गृहमन्त्री लामिछाने र सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राई व्यापारिक साझेदार हुन् ।
उनीहरूले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष निकालेको थियो । लामिछाने गोर्खा मिडियाका निर्देशक थिए ।
जोशी २०७८ र लामिछाने २०७९ मा गोर्खा मिडियाबाट अलग भएका थिए ।

























