
काठमाडौं । उत्तरी गाजाको बेइट लाहियामा भएको इजरायली आक्रमणमा ७३ जनाको मृत्यु भएको छ । धेरैजना भग्नावशेषमुनि पुरिएको आशंका गरिएको अल जजिराले जनाएको छ ।
उद्धार कार्य जारी रहँदा मृतकको संख्या बढ्ने अनुमान गरिएको गाजाको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
गाजा पट्टीको उत्तरमा खाद्यान्न, पानी र औषधि जस्ता आवश्यक सेवाको पहुँच विच्छेद गरेका कारण उत्तरी गाजाको अवस्था भयावह बनेको छ ।
यद्यपि, इजरायली रक्षा बल (आइडिएफ) ले उत्तरी गाजामा हालैका आक्रमणमा ७३ जनाको मृत्यु भएको हमासको दाबीमा शंका व्यक्त गरेको छ । टाइम्स अफ इजरायलले यो तथ्यांक ‘अतिरञ्जित’ भएको जनाएको छ ।
लेबनानी सशस्त्र समूह हिजबुल्लाहले प्रहार गरेको रकेट आक्रमणको जवाफमा इजरायलले लेबनानको बेरुतमा उक्त समूहका लक्ष्यमा आक्रमण गरिरहेको टाइम्स अफ इजरायलले जनाएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको घरतिर ड्रोन प्रहार गरेपछि यो पछिल्लो आक्रमण भएको हो । सामाजिक सञ्जाल एक्समा नेतान्याहूले लेखेका छन्, ‘इरानको प्रोक्सी हिजबुल्लाहले आज मेरो र मेरी श्रीमतीको हत्या गर्ने प्रयास गर्नु गम्भीर गल्ती थियो । यसले मलाई वा इजरायल राज्यलाई हाम्रो भविष्य सुरक्षित गर्न हाम्रा शत्रुविरुद्ध न्यायपूर्ण युद्ध जारी राख्नबाट रोक्नेछैन ।’

























