सन् २००५ मा सफाइ पाएपछि अदालतबाट बाहिर निस्किँदै रिपुदमन सिंह मलिक (बीचमा)काठमाडौं । सन् १९८५ मा एअर इन्डियाको विमानमा भएको बम विस्फोटनको मुद्दामा निर्दोष साबित भएका एक व्यक्तिलाई गोली प्रहार गर्ने २ जनाले क्यानडाको एक अदालतमा आफू दोषी भएको स्वीकार गरेका छन् ।
ट्यानर फक्स र होजे लोपेजले सिख व्यापारी रिपुदमन सिंह मलिकको सन् २०२२ मा हत्या गरेको अभियोग क्यानडाको एक अदालतमा स्वीकार गरेका हुन् ।
सिंहको सुनियोजित हत्या गरेको अभियोगमा मुद्दाको सुनुवाइ सुरु हुनुभन्दा अघिल्लो दिन नै उनीहरूले ब्रिटिश कोलम्बियाको सर्वोच्च अदालतमा ज्यान मार्ने कसुर गरेको स्वीकार गरेको बीबीसीले उल्लेख गरेको छ ।
तर त्यसपछि दुई अभियुक्तबीच न्यूवेस्टमिन्स्टरस्थित अदालतको कक्षभित्रै घम्साघम्सी भएको थियो । भ्यान्कूभर सन पत्रिकाका अनुसार फक्स र लोपेजबीच दुई मिनेटजति एकअर्कालाई मुक्का हानेका थिए ।
सुरक्षाकर्मीहरूले हस्तक्षेप गर्दै उनीहरूलाई छुट्ट्याए र भुइँमा निहुरिएर बस्न लगाएका थिए । त्यसपछि उनीहरूलाई हतकडी लगाएर बाहिर लगिएको थियो ।
अक्टोबर ३१ का लागि तोकिएको इजलासले उनीहरूको मुद्दामा फैसला सुनाउने छ । हत्या गरेको कसुर स्वीकार गरेको हुनाले उनीहरूले स्वतः आजीवन कारावासको सजाय पाउँछन् ।
सन् २०२२ को एप्रिल १४ मा मलिकलाई ब्रिटिश कोलम्बियाको सरीमा उनको पारिवारिक व्यवसाय रहेको ठाउँबाहिर कैयौँ पटक गोली हानिएको थियो । प्रहरीले नजिकै एउटा जलेको गाडी भेटेको थियो ।

विमान बम विस्फोटन प्रकरणमा मलिकले सन् २००५ सफाइ पाएका थिए । सन् १९८५ को जुन २३ मा क्यानडाबाट भारतका लागि उडेको एअर इन्डियाको उडान नं १८२ भएको विमानमा आइरिश तटनजिकै विस्फोटन भएको थियो ।
विस्फोटनका कारण विमानमा सवार सबै ३२९ जनाको ज्यान गएको थियो । तीमध्ये धेरैजसो भारतमा आफन्त भेट्न हिँडेका क्यानडाका नागरिकहरू थिए । विमानमा बम विस्फोटन भएकै समयमा जापानमा दोस्रो बम विस्फोटन भएको थियो । उक्त घटनामा ब्यागेज हेर्ने दुई कर्मचारीको पनि मृत्यु भएको थियो ।
सन् १९८४ मा भारतमा सिखहरूको पवित्र तीर्थस्थल स्वर्णमन्दिरमा आक्रमण भएपछि त्यसको जबाफ दिन ती विस्फोटनहरू गराइएको थियो । उक्त घटनालाई क्यानडाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा घातक आतङ्कवादी आक्रमण मानिन्छ ।
दुई वर्षको सुनुवाइपछि मलिक र उनीसँगै आरोपित अजायब सिंह बागरीले आमहत्या र दुइटा बम विस्फोटन गराउने षड्यन्त्र गरेको अभियोगबाट सन् २००५ मा सफाइ पाएका थिए ।
उनीहरूले सोमबार दिएको बयानका अनुसार फक्स र लोपेजले मलिकको हत्या गर्ने ‘काम’ पाएका थिए । तर कसले उनीहरूलाई पैसा दिएर मलिकको हत्या गर्न लगाएको थियो भन्ने चाहिँ कुरा प्रमाणित हुन सकेको छैन ।
मलिकको परिवारले एउटा विज्ञप्ति जारी गर्दै हत्याको निर्देशन दिने व्यक्तिलाई न्यायको कठघरामा ल्याउनका लागि प्रहरीलाई सघाउन आग्रह गरेको छ । – बीबीसी

























