विराटनगर । सामान्यतया हाइटेन्सन विद्युत प्रसारण लाइनमुनि घर बनाउन र बसोबास गर्न मिल्दैन। प्रसारण लाइनमुनि बस्दा स्वास्थ्यमा समस्या हुन्छ ।
तर, विराटनगर महानगरपालिकाले गलत ठाउँमा महानगर अटिजम सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । अटिजम भएका बालबालिकालाई राख्नका लागि भनेर ३३ हजार भोल्टको हाइटेन्सन प्रसारण लाइनमुनि महानगर अटिजम सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो ।
जबकि हाइटेन्सन विद्युत प्रसारण लाइनमुनि घर बनाउन र बसोबास गर्न नै मिल्दैन । महानगरले नै हाइटेन्समुनि घरको नक्सासमेत पास गर्दैन । तर, स्वास्थ्यका दृष्टिकोणले हाइटेन्सन लाइनमुनि बसोबास गर्नु उपयुक्त नहुने थाहा हुँदाहुँदै त्यसलाई बेवास्ता गरेर महानगरले ३३ हजार भोल्टको हाइटेन्सन प्रसारण लाइनबाट सिधै तल पर्ने भवनमा अटिजम सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । केन्द्रमा राखिने अटिजम भएका बालबालिका भने ठूलो जोखिममा परेका छन् ।
करुण फान्डेशनसँगको सहकार्यमा बुधबारबाट सञ्चालनमा ल्याइएको सेवा केन्द्रको मेयर नागेश कोइराला आफैंले उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा उपमेयर शिल्पा निराला कार्की, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर ४ का अध्यक्ष जितन थापा, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, करुणा फाउण्डेशनका कार्यकारी निर्देशक दीपक सापकोटा, निर्देशक योगेन्द्र गिरीलगायतको उपस्थिति थियो ।
विराटनगर महानगरपालिका– ४ दूधफारम दक्षिणमा ३३ केभी (३३ हजार भोल्ट) प्रसारण लाइनमुनि रहेको केन्द्र सञ्चालनका लागि महानगरपालिकाले आफ्नै कार्यविधि पनि बनाएको छ । महानगरपालिकाले नै भाडामा भवन लिएर केन्द्रका लागि संरचना बनाएको थियो । महानगरपालिकाका स्वास्थ्य संयोजक दिलिपकुमार यादवका अनुसार केन्द्रको संरचना तयार गर्नका लागि महानगरपालिकाले ३० लाख रुपैयाँ खर्च गरेको छ ।
महानगरपालिका आफैंले खर्च गरेर आवश्यक संरचना र सामग्री खरिद गरेको उनले बताए । चालु आर्थिक वर्षका लागि सेन्टर सञ्चालन गर्न एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको यादवको भनाइ छ । हाल ५ बालिकासहित २४ जना बालबाालिकालाई राखिएको केन्द्रमा उनीहरुको रेखदेखका लागि महानगरपालिकाले ९ जना कर्मचारी खटाएको छ ।
यादवका अनुसार केन्द्र बिहान ९ देखि ३ बजेसम्म सञ्चालन हुनेछ । महानगरको तथ्यांकअनुसार विराटनगर क्षेत्रभित्र ५१ जना अटिजम भएका बालबालिका छन् । केन्द्रमा फिजियोथेरापी, स्पीज थेरापी (बोल्न सिकाउने), बालबालिका र अभिभावकलाई मनोचिकित्सक सेवा प्रदान गरिने महानगरले जनाएको छ ।
केन्द्रभित्र ट्रेम्पोलिन, चिप्लेटी, चाकाचुली, पुल बल, रकिङ हर्स, घुम्ने पिङ, टेबल टेनिससहित आवश्यकताअनुसारका विभिन्न खेलौनाको समेत व्यवस्था गरिएको छ । केन्द्रमा भर्ना भएका बालबालिकाको उपचारसहित अध्ययनसमेत गराइनेछ । उनीहरूलाई उपचारपछि अन्य विद्यालयमा भर्ना गरिने जानकारी यादवले दिए ।
विज्ञहरुका अनुसार हाइटेन्स विद्युत प्रसारण लाइनको नजिक नियमित बस्दा ‘इलेक्ट्रोम्याग्नेटिक फिल्ड’को असर हुन्छ । जसले गर्दा स्वस्थ्य मानिसलाई पनि रक्त क्यान्सर (ल्युकेमिया) को जोखिम बढाउँछ । शरीरको ‘इम्युन सिस्टम’लाई पनि असर गर्छ । हाइटेन्सनमुनि बसोबास गर्दा अन्य स्वास्थ्य र शारीरिक समस्या पनि देखिन्छ ।
नेपालका विज्ञहरुले बनाएको प्रतिवेदन अनुसार अटिजम भएका बालबालिकाहरुका लागि भने हाइटेन्सनमुनिको बसाई झन जोखिमपूर्ण हुन्छ । निरन्तर प्रसारण लाइनमुनि बस्दा बालबालिकामा आक्रमकता र थकान बढी हुने समस्या देखिने चिकित्सकहरु बताउँछन् ।
विद्युत आपूर्तिबाट उत्पन्न हुने कम्पनले बालबालिकाको मस्तिष्कको विकासमा समेत असर गर्ने विज्ञहरुको दाबी छ । यसले बालबालिकाको रोगप्रतिरोधात्मक क्षमतामा पनि असर गर्छ ।
‘अटिजम भएका बच्चाहरूमा साधारणतया रोग प्रतिरोधक क्षमता कमजोर हुन्छ । लामो समयसम्म हाइटेन्सनमुनि रहँदा उनीहरुको ‘इम्युन सिस्टम’मा पनि असर गर्छ । जसले उनीहरुको स्वास्थ्यमा झन समस्या पार्न सक्छ,’ अटिजमको बिरामी हेर्दै आएका एक जना डाक्टरले भने, ‘विद्युत प्रसारण लाइनमुनि बालबालिका राख्नु जोखिमपूर्ण हुन्छ । यसरी सेवा केन्द्र बनाइएको छ भने महानगरको चरम लापरबाही हो । गैरजिम्मेवारीपन हो ।’
महानगरका स्वास्थ्य संयोजक यादवले ३३ केभी प्रसारण लाइन भएपनि बालबालिकालाई असर नगर्ने बताए । ३३ केभी प्रसारण लाइनमुनि नै केन्द्र छ । तर, उनले हाइटेन्सन भन्दा अलग स्थानमा रहेको दाबी गरे ।
‘बच्चाहरुलाई पढाउने खेलाउने ‘बिल्डिङ’ अलग छ,’ यादव भन्छन्, ‘बाहिर भनेको एकछिन खेल्नका लागि मात्रै हो ।’ बालबालिका धेरै समय नबस्ने भएकाले जोखिम नहुने उनको दाबी छ । ‘त्यहाँ मापदण्डभित्र रहेर बनाएको छ । ‘बिल्डिङ’भित्र बस्दा असर गर्दैन,’ उनी भन्छन् ।
नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख सरोजकुमार साह हाइटेन्सन बिजुलीको दायाँबायाँ निक्कै परसम्म जोखिम हुने बताउँछन् । ‘हाइटेन्सनमुनि बस्नु त स्वास्थ्यका हिसाबले निक्कै जोखिमपूर्ण हुन्छ,’ उनले भने, ‘दायाँबायाँ पनि दुई–अढाइ मिटरसम्म प्रभाव पर्छ ।’
सेवा केन्द्रको उद्घाटन गर्दै मेयर कोइरालाले अहिले सञ्चालनमा ल्याइएको सेवा केन्द्र अस्थायी भएको बताए । ‘महानगरसँग पर्याप्त स्रोत नभएकाले अस्थायी हिसाबले र सामान्य रूपले मात्रै सेवा केन्द्र सञ्चालमा ल्याइएको हो,’ उनले भने, ‘जग्गा खोजेर स्थायी रूपमा सुविधा सम्पन्न केन्द्र निर्माणको प्रक्रिया अघि बढाउँछौं ।’ केन्द्रका लागि छिट्टै नै भवन निर्माण गर्ने योजना रहेको र महानगरले जग्गा खोजिरहेको जानकारी कोइरालाले दिए ।