
विराटनगर । विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाका ऋणीविरुद्ध जिल्ला अदालत मोरङले पक्राउ पुर्जी जारी गरेको छ ।
सहकारीको बचत अपचलन गरेको आरोपमा संस्थाका अध्यक्ष अमलेश कर्ण पुर्पक्षका लागि कारागारमा छन् ।
प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीका सञ्चालक, पूर्व सञ्चालक र ऋणीलाई पनि प्रतिवादी बनाएर कात्तिक १ गते मोरङ अदालतमा मुद्दा दायर गरेको थियो । कात्तिक २ गते अदालतले अध्यक्ष कर्णलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।
अन्य फरार प्रतिवादीका लागि पक्राउ पुर्जी जारी भइरहेको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । ‘ फरार बनाइएका प्रतिवादीविरुद्ध पक्राउ पुर्जी जारी भइरहेको छ,’ उनले भने,‘ अहिलेसम्म ५० जनाको पक्राउ पुर्जी जारी गरी प्रहरीलाई पठाएका छौं, फरार रहेका सबैका नाममा पक्राउ पुर्जी जारी हुन्छ ।’
जिल्ला अदालतमा ८८ जना ऋणीसहित १०९ जनाविरुद्ध ‘सहकारी संस्थाको रकम हिनामिना’ अभियोगमा मुद्दा दायर भएको थियो । मुद्दा दायर गरिएका मध्ये २१ जना सहकारीका सञ्चालक र पूर्वसञ्चालकहरु छन् ।
प्रदेश सरकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले छानबिन गर्दा सहकारीको ९ करोड २५ लाख रुपैयाँ हिनामिना गरेको देखिएको थियो । प्रहरीको अनुसन्धानका क्रममा ७ करोड ८४ लाख २६ हजार ३ सय ३५ रुपैयाँ हिनामिना भएको देखिएको छ।
सहकारीले बचत फिर्ता नगरेपछि १ सय ३ जना बचतकर्ताले प्रहरीमा उजुरी दिएका थिए । ती बचतकर्ताले २ करोड ४२ लाख ६ हजार ७ सय ५१ रुपैयाँ बचत फिर्ता माग गरेका छन् । सहकारी संस्थाबाट १ सय ८३ जनाले ६ करोड ३४ लाख ७६ हजार २ सय २६ रुपैयाँ ऋण लिएको देखिन्छ ।
सहकारीको बचत सञ्चालकले आफूखुसी प्रयोग गर्दा संकटमा परेपछि २ वर्षयता सहकारीको कार्यालय बन्द छ ।

























