काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड एवम् ट्रंक लाइनको विवादित शुल्क ५६ किस्तामा असुल गर्ने निर्णय गरेकाे छ ।
प्राधिकरणले डेडिकेटेड एवम् ट्रंक लाइन शुल्क नतिर्ने उद्योगको लाइन काटेको थियो । पहिलो किस्ता तिरेपछि अहिले काटिएको बत्ती जोडिदिने निर्णय प्राधिकरण बोर्डले गरेको हो ।
प्राधिकरण सञ्चालक समिति सदस्यसमेत रहेका ऊर्जा सचिव सुरेश आचार्यका अनुसार डेडिकेटेड र ट्रंक लाइनबापतको बक्यौतालाई छुट्टै राखेर हिसाब गर्ने, हरेक उद्योगको बक्यौतालाई ५६ किस्तामा भाग लगाउने र एक किस्ता भुक्तानी भएलगत्तै लाइन जोडिदिने निर्णय भएको उनले बताए ।
भोलिका दिनमा विवादित रकमबारे अधिकारप्राप्त निकायले तिर्नु नपर्ने निर्णय गर्यो भने अहिले तरेको रकम पछि आउने बिलमा समायोजन गर्दै जाने निर्णय भएको पनि आचार्यले जानकारी दिए ।