
विराटनगर । आफ्नै संरचना नहुँदा कोशी प्रदेश सरकारले वार्षीक करिब ६ करोड रुपैयाँ घर भाडामा खर्च गर्दै आएको छ ।
प्रदेशसँग आफ्नै संरचना अभाव छ । संघीय सरकारका विभिन्न कार्यालय मर्मतसम्भार गरेर प्रदेश संरचना बनाइएका छन् । संघीय संरचनाले नपुगेको अवस्थामा प्रदेशले भाडामा भवन लिएर संरचना निर्माण गरिरहेको छ ।
कोशी प्रदेशको मुख्यमन्त्री, आर्थिक मामिला तथा योजना मन्त्री र प्रमुख सचिवको निवासबाहेक अरु सबै मन्त्रीको निवास भाडाका घर भाडामा छन् ।
सभामुख, उपसभामुको निवास, प्रदेश लेखा नियन्त्रण कार्यालय, मुख्य न्यायाधीवक्ताको कार्यालय, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रदेश लोकसेवा आयोगको कार्यालय पनि भाडाकै घरमा छन् । प्रदेश सरकारले तिर्ने भाडा बर्सेनि बढ्दो छ ।
आर्थिक वर्ष २०८०–०८१ म मात्रै पाँच करोड ९४ लाख १६ हजार रूपैयाँ खर्च गरेको छ । प्रदेश सरकारले जग्गा र घर भाडावापत आर्थिक वर्ष २०७७–०७८ मा पाँच करोड ७६ लाख ७४ हजार खर्च गरेको छ ।
आर्थिक वर्ष २०७८–७९ मा छ करोड छ लाख १४ हजार रुपैयाँ खर्च गरेको थियो । आर्थिक वर्ष २०७९–८० मा छ करोड ४४ लाख ९७ हजार खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी ऋषिकुमार खनालले जानकारी दिए ।
प्रदेश संरचना निर्माणका लागि चालु आर्थिक वर्षको बजेटमा सरकारले एक करोड रूपैयाँ छुट्याएको छ ।

























