
काठमाडौं । ‘भाइरल झाँक्री’ भनेर चिनिने प्रकाश भुजेलले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
कागेश्वरी मनोहरा–२ आलापोट बस्ने ३८ वर्षीय नारायण नगरकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ । गाडीको ठक्करबाट उनी गम्भीर घाइते भएका थिए । उपचारका क्रममा बु्धबार राति ग्राण्डी अस्पतालमा मृत्यु भएको जानकारी प्रहरीले दिएको छ ।
नगकोटी कागेश्वरी मनोहरा–२ आलापोटस्थित नेकपा (माओवादी केन्द्र)का सचिव रहेको स्थानीय बताउँछन् । दुर्घटनामा नगरकोटीकी पत्नी ३२ वर्षीया सानुमाया नगरकोटी गम्भीर घाइते भएकी छन् । उनी मोटरसाइकलको पछाडि सवार थिइन् । गम्भीर अवस्थाकी उनको उपचार जारी छ ।
भुजेलले चलाएको बा १९ प २६९५ नम्बरको कारले बुधबार साँझ शंखरापुर–९ इन्द्रायणीमा मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट नगरकोटी दम्पती गम्भीर घाइते भएका थिए ।
घटनापछि भुजेल फरार थिए । उनले प्रहरीमा आत्मसमर्पण गरेका छन् । दुर्घटनाको विरोधमा स्थानीयले सडक अवरुद्ध गरी केहीबेर विरोध प्रदर्शन गरेका थिए ।

























