
सिरहा । भुत मेला हेर्नका लागि गएका बालकलाई सिरहाको कमला नदीले शुक्रबार बगाएको छ ।
सिरहा नगरपालिका–१५ बुधौराका १४ वर्षीय अभिषेक यादवलाई नुहाउने क्रममा नदीले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बेपत्ता बालकको खोजी तीव्र पारिएको छ ।
ती बालक सिरहा–६ स्थित बसपिटा घाटमा पुलको दक्षिणतर्फ साथीहरुसँगै नुहाउन गएका थिए । प्रहरीलाई अर्का एक जना पनि नदीले बगाएर बेपत्ता भएको खबर आएको छ । तर, त्यसको पुष्टि प्रहरीले गरिसकेको छैन ।
धनुषा र सिराहाको सीमा भएर बग्ने कमला नदीमा कात्तिक पूर्णिमा मेला लाग्ने गरेको छ । त्यसलाई भुत मेला भन्ने गरिएको हो । मेलाको अवसरमा बिहानैदेखि कमला नदीमा स्नान गर्न जाने श्रद्धालुको भिड लाग्ने गरेको छ ।

























